दर्ता प्रक्रियामा जान मानेनन् दमकका विद्युतीय रिक्साहरु



१ साउन, दमक।
झापाको दमकमा संचालित विद्युतीय रिक्सा चालकहरु दर्ता प्रक्रियामा नजाने भएका छन् । उनीहरुले आफुहरुलाई दोहोरो दर्ताको मार परेको साथै यातायात ब्यवस्था बिभागको कार्यालयसम्म पुगेर दर्ता गर्न यान्त्रिक समस्या भएकोले समस्याको समाधान नभएसम्म दर्ता प्रक्रियामा नजाने बताए ।
बिहीबार इलाका ट्राफिक प्रहरी कार्यालय दमकले आयोजना गरेको छलफल कार्यक्रममा सहभागी उनीहरुले त्यस्तो माग अघि सारेका हुन् ।




कार्यक्रममा कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक शिवनारायण कुमार दनुवारले बिर्तामोड, इटहरी लगायतका शहरहरुमा सञ्चालित विद्युतीय रिक्साहरु दर्ता प्रक्रियामा जान सुरु गरिसकेकोले दमकमा पनि दर्ता प्रक्रियामा जान आग्रह गरे । उनले भने, 'यातायात ब्यवस्था कार्यालयमार्फत दर्ता प्रक्रियामा जानुको विकल्प छैन।' एक हप्ताभित्र दर्ता प्रक्रियामा नगए जिल्ला ट्राफिक कार्यालयको सर्कुलर अनुसार कारबाही प्रक्रिया अघि बढाउने प्रमुख दनुवारले चेतावनी दिए । दर्ता प्रक्रियामा नगए आवश्यक कारबाही अघि बढाउन बाध्य हुने उनको भनाई थियो ।


उता विद्युतीय रिक्सा चालक मजदुर संघ दमकका अध्यक्ष टेक बहादुर दाहालले भने आफुहरु दर्ता प्रक्रिया जाँदैनजाने प्रतिक्रिया दिए । यातायात नभई रिक्साकै रुपमा विद्युतीय रिक्सा चलाउन पाउनुपर्ने उनले माग गरे । संविधानको प्रारम्भिक मस्यौदा लिएर स्थानीय तहमा आउने राजनीतिक दलका नेताहरुलाई ज्ञापन पत्र बुझाउने र आफुहरु माथिको बिभेदको राज्यलाई ध्यानाकर्षण गरिने दाहालले जानकारी दिए ।
हाल दमक नगरपालिकाभित्र ३ सय वटा विद्युतीय रिक्सा सञ्चालनमा रहेका छन् ।




Comments