झापाका पोखरेल एनआरएन अष्ट्रेलियाको उपाध्यक्षमा अत्यधिक बहुमतले बिजयी



२२ असार, अष्ट्रेलिया।
नेपाली चलचित्रका सफल निर्माता झापाका दिनेश पोखरेल एनआरएन अष्ट्रेलियाको उपाध्यक्षमा अत्यधिक बहुमतले बिजयी भएका छन् । कनकाई नगरपालिका-१ दुर्गापुरका पोखरेल तीन वर्षको कार्यकालका लागि एनआरएन अष्ट्रेलियाको उपाध्यक्षमा चुनिएका हुन् ।
सर्वाधिक सफल नेपाली चलचित्र 'नाई न भन्नु ल २' को निर्माण गरेर चर्चाको शिखरमा पुगेका उनलाई यसपालिको एनआरएन अष्ट्रेलियाको निर्वाचनमा मतदाताले भोट दिनका लागि पनि नाई भनेनन् । उनलाई एनआरएन अस्ट्रेलिया राष्ट्रिय कार्य समितिको उपाध्यक्ष (एनएसडब्लु राज्यको संयोजक) पदमा सदर मतको झण्डै दुई तिहाई मतले बिजयी बनाएका छन् ।
एनआरएनए अष्ट्रेलियाको वर्तमान कार्यकाल (२०१३-२०१५) मा प्रवक्ता पदको जिम्मेवारी सम्हालिसकेका पोखरेल अस्ट्रेलियामा एनआरएनए हेल्पडेस्कको स्थापना गरी त्यसको संयोजक भएर गरेको कार्यबाट निक्कै लोकप्रिय रहे ।




झापाली समाज अस्ट्रेलियाको संस्थापक अध्यक्षसमेत रहेका पोखरेलले अस्ट्रेलियामा बसेर नेपालका लागि सेवामुखी कार्य गरेकाले झापालीका बीच मात्रै नभएर अस्ट्रेलियामा रहेका नेपाली समुदायमा पनि उत्तिकै परिचित छन् । नेपालमा बस्दा १० वर्षभन्दा बढी विभिन्न संघसंस्थाहरुको नेतृत्व पदमा रही गाउँ, क्षेत्र र जिल्ला तहसम्मको नेतृत्व गरेर अध्ययनको सिलसिलामा १० वर्षअघि अष्ट्रेलिया छिरेका उनी एक सफल चलचित्र निर्माता पनि हुन् । अस्ट्रेलियाको युनिभरसिटी अफ वेस्टर्न सिड्नीबाट इन्टरनेशनल बिजनेस बिषयमा स्नातकोत्तर गरेका पोखरेलले कनकाई मावि सुरुङ्गाबाट एसएलसी र रामपुर क्याम्पस चितवनबाट आइएस्सी र बिएस्सीएजीको अध्ययन गरेका हुन् ।
'संस्था सानो होस् या ठूलो त्यसको नेतृत्वको कुरा आउँदा प्रायः होडबाजी हुन्छ नै । एनआरएन अस्ट्रेलिया जस्तो गरिमामय संस्थाको नेतृत्वमा जानको लागि पनि प्रतिष्पर्धा नहुने कुरै भएन', आफ्नो विजयपछि हामीसँग संक्षिप्त कुरा गर्दा उनले भने, 'स्वच्छ प्रतिष्पर्धाबाट नेतृत्व चयन भएकोछ र नयाँ र राम्रा व्यक्तिहरु प्रजातान्त्रिक पद्धतिबाट नेतृत्वका लागि चुनिनुभएको छ ।' नेतृत्वमा आउनका लागि एकल प्रतिष्पर्धाबाट मात्र पुग्न प्रायः असम्भव हुने भएकोले साझा एजेण्डाहरुमा उस्तै-उस्तै भिजन भएका साथीभाइहरु बीच एक अर्काको सहयोगले संस्था चलाउन सजिलो होस् भनेर नेतृत्वका लागि एकताबद्ध भएर चुनाव लडिएको उनले बताए ।


आफू र टिमलाई नै बिजयी गराउने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद दिँदै उनले अष्ट्रेलियामा रहेका नेपालीहरुको साझा संस्था एनआरएनए अष्ट्रेलियाको उच्च रहेको गरिमालाई समयानुकुल अझ प्रभावकारी कार्यक्रमहरु ल्याएर थप उचाईमा पुर्‍याउने आफ्नो लक्ष्य रहेको बताए ।
अस्ट्रेलियामा सबैभन्दा बढी नेपालीहरुको बसोबास भएको राज्य एनएसडब्लु राज्यको नवनिर्वाचित संयोजकको हैसियतले यस राज्यमा विद्यार्थीलगायत नेपाली समाजमा रहेका समस्याहरुलाई संस्थाका तर्फबाट गर्नुपर्ने कार्यहरुमा प्रभावकारी भूमिका खेल्नेसमेत पोखरेलले बताए ।
निर्वाचनमा पराजित हुने साथीहरु लगायत समाजमा रहेका सबै पक्षलाई नेपाली समुदायको समुन्नत हित हुने कार्यक्रमहरुमा समेटेर लाने संस्कारको विकास गर्ने प्रतिबद्धतासमेत उनले जनाए । अगाडि भने, 'लामो समयसम्म अष्ट्रेलियामा रहेर पनि नेपालीपन र नेपाली मन नछोड्नु भएका उदार मन भएका नेपाली समाजका सदस्यहरुलाई भूकम्प पीडितका लागि पुनर्निर्माण लगायत नेपाल र नेपालीका हितका लागि गर्नुपर्ने र गर्नसक्ने सबै कार्यहरुका लागि सँगै लिएर काम गर्नेछु ।'




Comments