सुझाव संकलनमा अवरोध पुर्‍याउने पक्राउ




४ साउन, दमक।
संविधानको मस्यौदामाथि सुझाव संकलन कार्यमा अवरोध पुर्‍याउने दुईजना प्रदर्शनकारीलाई झापाको दमकबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज दिउँसो १ बजेतिर दमकको रेडक्रस सभाहलमा झापा- ७ का सभाषद तथा एमाले अध्यक्ष केपी ओली बोलिरहँदा लिम्बुवानका कार्यकर्ताले हल बाहिर चर्को नारावाजी गर्दै र माइक तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा संघीय लिम्बुवान पार्टी नेपालका सन्तोष तुम्बापो र ध्रुब लावती रहेका छन् ।
नारावाजी गर्दै हलभित्र पस्न खोजेका लिम्बुवान कार्यकर्तालाई प्रहरीले रोकेको थियो ।


हल बाहिर मुलुकलाई संवैधानिक रुपमै हिन्दु राष्ट्र घोषणा गर्न माग गरिरहेको राप्रपा नेपालका र लिम्बुवान पार्टीका कार्यकर्ताले मस्यौदा संविधानका प्रतिहरु अलग अलग जलाएका थिए ।
मस्यौदा संविधानमाथि सुझाव लिन एमाले अध्यक्ष ओली र कांग्रेस सभाषद महेन्द्राकुमारी लिम्बु सहभागी थिए।



Comments