विभिन्न कार्यक्रम गरी विपी स्मृति दिवस मनाइयो



६ साउन, दमक।
जननायक बिपी कोइरालाको ३३ स्मृति दिवस बुधबार देशैभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
यसैक्रममा झापाको दमकमा नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ७ ले स्मृति सभाको आयोजना गरेको छ । दमकस्थित कांग्रेस नगर समितिको सभाहलमा कार्यक्रममा सहभागी बक्ताहरुले नेपाली राजनीतिमा विपीले पुर्‍याएको योगदानका बारेमा चर्चा गरेका थिए । सहभागीहरुले नेपालको राजनीतिमा अहिले विपीको विचार खाँचो देखिएकोमा जोड दिएका थिए ।
पार्टी क्षेत्रीय सभापति शेर वहादुर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस महासमिति सदस्य सुरेश सुव्वा, राजन ढुङ्गाना, दिल बहादुर बुढाथोकी, कांग्रेसका जिल्ला कोषाध्यक्ष देवी प्रसाद दाहाल, जिल्ला सदस्य महेन्द्रसिंह निरौला, महाधिबेशन प्रतिनिधि चन्द्रा खड्का, नगर सभापति ढुण्डीराज भण्डारी, महिला संघकी क्षेत्रीय सभापति रेगिना भट्टराई प्रसाईं,नेविसंघ झापा सभापति रोशन विष्ट, पूर्व सभापति पर्शुराम रिजाल लगायतले बोलेका थिए ।


यसैगरी जननेता विपी कोइरालाको ३३औं स्मृति दिवस झापा क्षेत्र नं ५ को क्षेत्रीय कार्यालय शिवसताक्षी-९ स्थित माइधारमा वृक्षारोपण गरी मनाइयो ।
क्षेत्र नं ५ का क्षेत्रीय सभापति जयनारायण शाहको अध्यक्षतामा भएको दिवसमा कार्यक्रमका प्रमुख अतिथि कांग्रेसका जिल्ला उपसभापति देउमान थेबेले विपीको सपना साकार पार्न सम्पूर्ण कार्यकर्ताहरु लाग्नुपर्ने बताउँदै अब बन्ने संविधानमा सबैको उत्तिकै समान हक अधिकार हुनुपर्ने बताए ।
स्मृति दिवसकै अवसरमा पूर्वकै धार्मिक तथा पर्यटकीय स्थल दोमुखामा रुद्राक्ष, टिक, मसला, शिरिष लगायतका एक सय बढी बिरुवाहरु रोपिएको नगर सभापति पर्शुराम ढुङ्गानाले बताए ।




Comments