अतिक्रमित क्षेत्र खाली गर्ने अभियान अलपत्र




२२ असार, दमक।
झापाको दमकमा सडक र नगरपालिकाको स्वामित्वमा रहेका जग्गा मिचेर बनाइएका संरचना हटाउने कार्य अलपत्र परेको छ ।

लामो समयदेखि नगरपालिकाले गर्दै आएको प्रयास साना घर तथा संरचनाहरु हटाएपछि ठुला घरहरुमा पुगेर रोकिएको महिनौँ बिते पनि पुनः सुरु हुन सकेको छैन ।

नगरपालिकाले पटक-पटक दमक बजारभित्र र राजमार्ग आसपास सडक पेटी अतिक्रमण गरेर बनाइएका घर तथा अन्य संरचनाहरु हटाउन सार्वजनिक सूचना जारी गरेपछि गएको माघमा पशुहाट क्षेत्रमा बनाइएका अस्थायी पसल तथा घरहरुका धनीले आफैँ भत्काएर अन्यत्र स्थानान्तरण भए पनि त्यसदेखि बाहेकका नगरपालिकाको मुख्य बजार क्षेत्रकै ठुला सडक किनारमा बनाइएका ठुल्ठुला घर लगायतका संरचना भने अझै हटाइएको छैन ।




नगरपलिकाले फाल्गुनन्द चोकमा कडा सुरक्षा घेराबीच बल प्रयोग गरेरै दमक बजारभित्र सडक किनार अतिक्रमण गरेर बनाइएका घर, छाप्रा तथा अस्थायी, स्थायी सबै खाले संरचना हटाउन थालेको थियो । नगरपालिका रोड-फाल्गुनन्द चोकदेखि हनुमान मन्दिरसम्मको क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचनाहरु पहिलोपटक स्काभेटर प्रयोग गरेर भत्काउन थालिएपनि बिचैमा रोकिएपछि स्थानीयबासिन्दाहरु असन्तुष्टि व्यक्त गर्न थालेका छन् ।

कतिपय मानिसको बसोबास भइरहेका घर नै भत्काउनु पर्ने भएकाले नगरपालिका कर्मचारी तथा प्राविधिकहरुको टोलीले खाली गर्नुपर्ने क्षेत्र रेखाङ्कन गरेर तीन दिनभित्र पूर्ण रुपले हटाउन स्थलगत रुपमै निर्देशन दिएको थियो । इलाका प्रशासन कार्यालय दमकका प्रमुख बासुप्रसाद कोइराला, नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालसहित नगरपालिकाका कर्मचारी, सशस्त्र प्रहरी बल पाथिभरा गणका गणपति भरतबाबु कार्कीसहितको सशस्त्र प्रहरी टोली, नेपाल प्रहरी टोली, व्यवसायी नेतृत्व, राजनीतिक दलका नगरस्थित प्रमुख तथा प्रतिनिधि स्वयम् उपस्थित भएर अतिक्रमित जग्गा खाली गर्न गएको माघमा निर्देशन दिएका थिए ।


पहिलो चरणमा सडक किनार अर्थात् फुटपाथ खाली गराउँदै जाने र सोपछि नगरपालिकाको स्वामित्वभित्र रहेको जग्गामा अतिक्रमण गरेर बनाइएका घर तथा अन्य संरचनाहरुसमेत पूर्ण रुपमा हटाउने योजना जारी रहेको नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहाल बताउँछन्। उनले नगरपालिकामा कर्मचारी थोरै भएको तथा विभिन्न असहज परिस्थितिका कारण अभियान प्रभावकारी बनाउन नसकिएको स्वीकार गर्दै अव पुनः सो कार्य सशक्त बनाइने बताए।
दमक नगरपालिकाका इञ्जिनियर तीर्थनारायण श्रेष्ठले नगरपालिकाबाट भएको नाप जाँचका क्रममा विभिन्न ९ स्थानमा सडक तथा सार्वजनिक जग्गा अतिक्रमण भएको भेटिएको बताउँदै ती घर धनीले संरचना भत्काउन सहमति जनाइसकेका दाबी गरे। घर भत्काउन प्रयोग गरिने आधुनिक किसिमको उपकरण चीनबाट खरिद गरेर ल्याउनु पर्ने भएकाले सुरक्षित रुपमा घर भत्काउनका लागि पर्खनु परिरहेको उनको भनाई छ ।


Comments