वैदेशिक रोजगारीका नाममा ठगी धन्दा चलाउँदै अवैध म्यानपावर





खगेन्द्र घिमिरे,
४ साउन, बिर्तामोड।
अवैधानिक रुपमा झापाको बिर्तामोडमा सञ्चालित एक म्यानवारले आधा दर्जनभन्दा बढी युवालाई वैदेशिक रोजगारको प्रलोभनमा देखाएर ठगी गरेको छ । काठमाण्डौको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको शिखर इन्टरनेशनल म्यानपावर सर्भिसको झापा बिर्तामोडमा शाखा कार्यालयको बोर्ड राखी बैदेशिक रोजगारमा पठाउने गरेको रहस्य खुलेको छ । बिर्तामोडस्थित सञ्चालित सो कार्यालयबाट काठमाण्डौको केन्द्रीय कार्यालयमा पुगेका युवालाई आफुहरुको कार्यालय झापामा नरहेको भन्दै पत्र दिएपछि उनीहरु ठगिएको पत्ता लागेको हो । उनीहरुबाट लाखौं रुपैयाँ ठगी गरेको सोमबार पीडितहरुले बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।




झापा खजुरगाछी-८ का राकेश पाण्डेले बैदेशिक रोजगारका लागि बिर्तामोडमा आफुलाई शाखा सञ्चालक बताउने प्रदीप राउतलाई ७० हजार रुपैयाँ बुझाएको बताए । बिदेश जान भनी पाण्डेलाई काठमाण्डौ बोलाएपछि केन्द्रीय कार्यालयले उनको कुनै बिबरण शिखर म्यानपावरमा नभएको बताउँदै उनलाई पत्र दिएको थियो । २०७२ जेठ २४ गते शिखर म्यानपावरका ज्ञानेन्द्र पन्थले हस्ताक्षर गरेको सो पत्रमा झापामा आफ्नो कुनै शाखा, सम्पर्क र एजेन्ट नभएको भन्दै उजुरी तथा अनुसन्धान शाखा बैदेशिक रोजगार बिभागलाई पत्र लेखेको उल्लेख छ । बैदेशिक रोजगार बिभागको उजुरी तथा अनुसन्धान शाखाले झापाको बिर्तामोडमा रहेको इलाका प्रहरी कार्यालयलाई जेठ २४ नै बिर्तामोडमा अबैधानिकरुपमा सञ्चालन गरी युवाबाट रकम संकलन गर्ने सञ्चालक राउतलाई पक्राउ गरी अनुसन्धान गर्ने पत्र लेखेको भएता पनि उनलाई पक्राउ गरिएको छैन ।


बिर्तामोड इप्रकाका डिएसपी सञ्जय राउतले ठगी गर्ने राउतको खोजी भइरहेको जवाफ दिने गरेको पीडितहरुले बताएका छन् । पीडित पाण्डेले भने, 'म झापा आएको आफन्तलाई समेत थाहा थिएन, डिएसपीसाबलाई भेटेपछि कहिले फोनसमेत नउठाउने सञ्चालक राउतले मलाई फोन गरे ।' पीडित पाण्डेले आफुले क्षतिपूर्तिभन्दा पनि आफु जस्तै अरु नठगिउन भन्नेर पत्रकार सम्मेलन गरेको बताए ।
अबैध म्यानपावरबाट पाण्डेसहित ७ जना ठगिएको पत्रकार सम्मेलन बताइएको छ । ठगिनेमा शनिअर्जुन-९ का पारङ्ग मुर्मु, बिमल बस्नेत, कर्ण गुरुङ, प्रबिन खड्का लगायत छन् । उनीहरुबाट पासपोर्ट, कसैको नागरिकता, कसैको रुपैयाँ ठगि गरेको पीडितहरुले बताएका छन् ।
सोही म्यानपारबाट प्रतिब्यक्ति ८५ हजार रूपैयाँ बुझाएर २ महिनाअघि कतार पुगेका दुई झापाली अलपत्र छन् । इलेक्ट्रोनिकमा इन्डोर कामको सम्झौता गरी कतार पुगेका शनि-अर्जुन-९ का सागर ढकाल र प्रविन राजवंशी अलपत्र परेका हुन् । कतारको बिल्डिङ्ग एण्ड इन्जिनियरिङ्ग ब्युरो ट्रेडिङ्ग कन्ट्रक्शन कम्पनीमा कामका लागि गएका उनीहरुलाई सम्झौता अनुसारको काम नभएपछि अहिले सडकमा बस्न बाध्य भएको समाचार यसअघि नै प्रकाशित भइसकेको छ ।
यसैबीच डिएसपी राउतले पत्र प्राप्त भएपछि म्यानपावर सञ्चालक राउतको खोजी कार्य भइरहेकाले कारवाहीको दायरमा ल्याउने बताएका छन्।




पत्रहरू







Comments