झडपका बीच विर्तामोड उवासंघको तदर्थ समिति गठन





२ साउन, विर्तामोड ।
उद्योग वाणिज्य संघ विर्तामोडको नयाँ समिति गठन गर्नका लागि वेदप्रसाद अग्रवालको अध्यक्षतामा २१ सदस्यीय तदर्थ समिति गठन भएको छ ।
शनिबार विर्तामोडस्थित अतिथि सदनमा भएको व्यवसायीहरुको भेलाले गठन गरेको समितिको उपाध्यक्षमा भीष्मराज खरेल, सचिवमा कृष्ण मिश्र, सह-सचिवमा जीवन पनेरु र कोषाध्यक्षमा निरज ओलीलाई चयन गरेको छ ।
समितिको सदस्यहरुमा टीका संग्रौला, टेकनाथ ढुंगाना, दुर्गा थपलिया, गोपाल ल्वागुन, सुरेन राजवंशी, शान्ता बस्नेत, गंगाप्रसाद मैनाली, लक्ष्मी सापकोटा, राहुल शर्मा, त्रिलोकी शाह, दिपक गुरागाईं र उर्मिला खरेल रहेका छन् । समितिको वैठकले ४ जना सदस्यलाई पछि मनोनित गर्ने जनाइएको छ । नवगठित तदर्थ समितिले विधान मस्यौदा समितिको गठन गरी संस्था दर्ताको प्रक्रियालाई अघि बढाउन व्यवसायीहरुको भेलाले अनुमति दिएको छ ।





संघको विर्तामोड शाखाका संस्थापक सचिव वेदप्रकाश अग्रवालको अध्यक्षतामा आयोजना गरिएको भेलाको सहजीकरण सुवास भट्टराईले गरेका थिए । कृष्ण मिश्रले सञ्चालन गरेको कार्यक्रममा कृष्ण मिश्र, भीष्म खरेल, अग्नी पाण्डे, हरि आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
तदर्थ समिति गठन गर्नुअघि व्यवसायीहरुको दुई समुहबीच झडप भएको थियो । झडपमा परी रामबाबु धिमाल, शान्ता बस्नेत, कुमारी गजमेर लगायत घाइते भएका छन् । नगरपालिका घोषणा भएको १६ महिनासम्म पनि संस्था दर्ताको प्रक्रियालाई अघि नबढाई आलटाल गरिरहेको अवस्थामा जिल्ला प्रशासन कार्यालय झापाले संस्था दर्ताको सम्बन्धमा भेला बोलाउन निर्देशन दिएको थियो ।
संघले विशेष भेला गरेको र स्वतः विगठित हुनुपर्ने संघका अध्यक्ष बलराम कार्कीलाई सभाको अध्यक्षता गराएपछि विवादले उग्ररुप लिदा व्यवसायीबीच झडपको स्थिति सिर्जना भएको थियो । कार्यक्रममा संघका अध्यक्ष कार्कीलाई सभाध्यक्षको रुपमा सचिव किरण श्रेष्ठले आसनग्रहण गराएपछि एमाले सम्बद्ध व्यवसायीले विरोध जनाएका थिए ।
गत वर्ष बिर्तामोड नगरपालिका घोषणा भएपछि झापा उद्योग वाणिज्य संघको शाखाको रुपमा रहेको बिर्तामोड संघ विगठित भएर नयाँ समिति गठन गर्नुपर्ने माग एमालेसम्बद्ध राष्ट्रिय वाणिज्य संघले गर्दै आएको थियो ।




Comments