सतासीधाम मन्दिरको दानपेटिकासहित डम्बरू र घण्टी चोरी




१८ असार, दमक।
झापाको शिवसताक्षी नगरपालिकास्थित सतासीधाम मन्दिरमा रहेको दानपेटिकासहित डम्बरु र घण्टी चोरी भएको छ । धामक्षेत्रवाट करिव ८ सय मिटर टाढा जङ्गलमा बिहिबार बिहान सो दानपेटिका फुटाइएको अवस्थामा स्थानीयले फेला परेका थिए ।

सतासीधाम सामुदायीक बन उपभोक्ता समुह झिलझिलेका अध्यक्ष जगतवहादुर श्रेष्ठले जङ्गलमा नियमित गस्ती गर्नेक्रममा दानपेटिका फुटाइएको अवस्थामा फेला परेको बताए । उनले धार्मिक आस्था र घुमन्तेका रुपमा आउने आगान्तुकहरुले सो दानपेटिकामा नगद भेटी चढाउने गर्ने गरेका बताए । जङ्गल बीचमा रहेको सतासीधाम असुरक्षित भएको महशुस गर्दै अध्यक्ष श्रेष्ठले भने, 'दानपेटिकामा कति रुपैयाँ संकलन भएको थियो भन्ने बारेमा यकिन गर्न कठिन छ।'


यता सोही धामक्षेत्रमा होटल संचालन गरिरहेका तारावहादुर थापाले मन्दिरमा राखिएका सामाग्रीहरु बुधबार कुन समयमा चोरी भयो भन्ने बारेमा आफु अनबिज्ञ भएको बताए । उनले असुरक्षाका कारण मन्दिरमा रहेको ठुलो घण्टी, साधुमहन्तले प्रयोग गर्ने डम्बरु र सार्वजनिक रुपमा राखिएको दानपेटिका चोरी भएको बताए ।
पूर्वक्षेत्रको धार्मिक र पर्यटकीय दृष्टिकोणले लोकप्रिय मानिएको सतासीधाममा पछिल्लो समय भएको घटनाले स्थानीयहरु अचम्ममा परेका ।
पूर्वपश्चिम राजमार्गको झिलझिलेवाट साढे तीन किलोमिटर उत्तरमा अवस्थित सतासीधाम चुरेपहाडको घना जङ्गलभित्र पर्दछ ।
घटनाका बारेमा इलाका प्रहरी कार्यालय झिलझिलेमा जानकारी भएको कार्यालयका प्रहरी निरीक्षक बिनोद निरौलाले बताए ।


Comments