भण्डारीको 'तिम्रो घरको गल्ली हुँदै' को छायाङ्कन सकियो



७ साउन, सुरूङ्गा।
विर्तामोडका युवा गायक तथा संगीतकार कृष्ण भण्डारीको शब्द, संगीत तथा स्वरमा रहेको पप गीत 'तिम्रो घरको गल्ली हुँदै हिँडिरहेँ म...' म्युजिक भिडियोको छायाङ्कन सकिएको छ ।
झापाको चारआली, विर्तामोड, बुधबारे, बर्ने (चिया बगान), इलामको कन्याम लगायतका क्षेत्रमा सुटिङ गरिएको उक्त म्यूजिक भिडियोलाई '७८६-संजोग' एल्बममा समेटिने जनाइएको छ । म्यूजिक भिडियोमा श्रेया भण्डारी र झापाली सञ्चारकर्मी मधु न्यौपानेलाई मोडलको रुपमा देख्न सकिन्छ ।




प्रेम प्रसङ्गमा आधारित उक्त म्यूजिक भिडियोको निर्देशन झापाकै अर्का सञ्चारकर्मी योदिन एमएल सम्बाहाम्फे लिम्बूले गरेका हुन् ।
एउटा युवकले एउटी युवतीलाई अनायसै मन पराउँछन् । त्यसपछि त्यस युवक पटकपटक आफ्नो मनको राजकुमारीलाई हेर्न उनको घर धाउने कुरा भिडियोमा दर्साइएको निर्देशक सम्बाहाम्फेले बताए ।


करिब १ लाख रूपैयाँको लगानीमा तयार गरिएको उक्त म्यूजिक भिडियो निर्माण युनिटले भविष्यमा एउटा कथानक चलचित्र बनाउने योजना लिएको जनाइएको छ । 'मोफसलबाट धेरै लगानी गरेर भिडियो तयार गरेका छौं', गायक भण्डारीले भने, 'हाम्रो लागि दर्शक र स्रोता भनेको भगवान् हुन् । भिडियो रुचाइदिनु हुनेछ भन्ने आशा छ ।'
कोशी भिजन मिडिया प्रा.लि. इटहरीको ब्यानरमा निर्माण भएको यस म्यूजिक भिडियोलाई चाँडै नै सार्वजनिक गरिने मोडल न्यौपानेले बताए ।

प्रस्तुति - गौरव पोखरेल




Comments