यस वर्षको एसएल शर्मा सिर्जनशील पत्रकारिता पुरस्कार काजीलाई




६ साउन, सुरूङ्गा।
प्रेस स्वतन्त्रता सेनानी एसएल शर्मा र उनकी धर्मपत्नी पार्वतीदेवी शर्माको स्मृतिमा स्थापित 'एसएल शर्मा सिर्जनशील पत्रकारिता पुरस्कार'-२०७२ अग्रज पत्रकार नकुल काजीलाई प्रदान गरिने भएको छ ।
विगत ५ दशकभन्दा बढी समयदेखि झापा जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकाररिताको माध्यमबाट समाजको रुपान्तरणका निमित्त उच्च योगदान दिएको भन्दै काजीलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । पुरस्कारको राशी २१ हजार रूपैयाँ नगद रहेको छ ।



यसैगरी एसएल शर्माकी धर्मपत्नी स्वर्गीय पार्वतादेवी शर्माको स्मृतिमा स्थापित 'पार्वतीदेवी शर्मा पत्रकारिता प्रोत्साहन पुरस्कार' बाट दमकबाट प्रकाशन हुने पूर्व सन्देश दैनिकका सम्पादक गञ्जवहादुर दाहालकी श्रीमती कल्याणी दाहाललाई प्रदान गर्ने निर्णय भएको छ । उक्त पुरस्कार आफ्ना श्रीमानलाई पत्रकारिता क्षेत्रमा लागिरहन सहयोग गर्ने पत्रकार पत्नीलाई प्रदान गर्ने गरिन्छ । पुरस्कारको राशी नगद ११ हजार रुपैयाँ र सम्मान पत्र रहेको पुरस्कार संस्थापक परिवारका सदस्य पत्रकार भाष्कर शर्माले बताए।
हरेक वर्ष महासंघ स्थापना दिवसका अवसरमा प्रदान गरिँदै आएको पुरस्कार साउन ६ गते घोषणा गर्ने परम्परा रहेको छ । ०६२ सालमा स्थापित 'एसएल शर्मा सिर्जनशील पत्रकारिता पुरस्कारबाट यसअघि कृष्ण धरावासी, लीला उदासी, चन्द्र भण्डारी, गोविन्द क्षेत्री, चिन्तामणि दाहाल, कृष्ण हुमागाई, गोपाल गिरी, गोपाल गड्तौला, भीम नेम्वाङ, मोहन काजी र लक्ष्मण ढकाल पुरस्कृत भइ सकेका छन्।
त्यस्तै ०६६ सालमा स्थापित 'पार्वतीदेवी शर्मा पत्रकारिता प्रोत्साहन पुरस्कार'बाट पत्रकार लीला बरालकी श्रीमती कुन्ता बराल, पत्रकार मदन ढकालकी श्रीमती सावित्रा ढकाल, पत्रकार माधव विद्रोहीकी श्रीमती सञ्जु भण्डारी, पत्रकार अमृतलाल श्रेष्ठकी श्रीमती नीलु श्रेष्ठ, पत्रकार दिपिन राईकी श्रीमती लीला राई र पत्रकार लेखनाथ शिवाकोटीकी श्रीमती कृष्णकला शिवाकोटी पुरस्कृत भइसकेका छन्।


१९८३ सालमा जन्मिएर प्रेस स्वतन्त्रताका लागि अतुलनीय योगदान पुर्‍याएका शर्माको निधन २०६० सालमा भएको थियो । उनको योगदान र स्मृति ताजा राख्न उनका छोरा राजेन्द्र शलभ तथा शर्मा परिवारको अगुवाइमा 'एसएल शर्मा सिर्जनशील पत्रकारिता पुरस्कार' को स्थापना २०६२ सालमा भएको हो ।
१९८७ सालमा जन्मिएर प्रेस स्वतन्त्रताकालागि अतुलनीय योगदान पुर्‍याउने एसएलकी सहयात्री पार्वतीदेवीको निधन २०६५ सालमा भएको थियो । एसएलको पत्रकारिता जीवनमा पार्वतीदेवीले योगदान पुर्‍याए झैं अरु पत्रकारलाई पत्रकारिता गर्न सहयोग पुर्‍याउने श्रीमतीलाई प्रोत्साहन गर्ने उद्देश्यले 'पार्वतीदेवी शर्मा पत्रकारिता प्रोत्साहन पुरस्कार'को स्थापना २०६६ सालमा भएको थियो ।

महासंघको कार्यालयमा वुधवार भएको निर्णायक समितिको बैठकले पुरस्कार संस्थाको विधानको आधारमा योग्य पात्रहरुको खोजी गरी उनीहरुको योगदानको मूल्याङ्कन गर्दै काजी र दाहाललाई पुरस्कारका लागि छनौट गरेको थियो । महासंघका अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा भएको निर्णय समितिको वैठककमा दाता परिवारका तर्फबाट भाष्कर शर्मा, गत वर्षका पुरस्कृत पत्रकार लक्ष्मण ढकाल, पत्रकार पत्नी कृष्णकला शिवाकोटी लगायतको सहभागीता रहेको थियो ।



Comments