मेनपावरको लापरबाहीले २ झापाली कतारमा अलपत्र




१ साउन, विर्तामोड।
बैदेशिक रोजगारका लागि २ महिनाअघि कतार पुगेका दुई झापाली अलपत्र परेका छन् । इलेक्ट्रोनिकमा इन्डोर कामको मेनपावरसँग सम्झौता गरी कतार पुगेका शनि-अर्जुन-९ का सागर ढकाल र प्रविन राजवंशी अलपत्र परेका हुन् ।
झापाको बिर्तामोडमा सञ्चालनमा रहेको मेनपावरमा कागजपत्र पेश गरेका उनीहरुलाई एपोलो मेनपावरले बैदेशिक रोजगारका लागि कतार पठाएको ढकालकी दिदी हिमा गिरीले बताइन् । कतारको बिल्डिङ्ग एण्ड इन्जिनियरिङ्ग ब्युरो ट्रेडिङ्ग कन्ट्रक्शन कम्पनीमा कामका लागि गएका उनीहरुलाई भने अनुसारको काम नभएपछि अहिले सडकमा बस्न बाध्य भएको उनका बुबा सूर्यप्रसाद ढकालले जानकारी दिए ।




ढकाल र राजबंशीले प्रतिब्यक्ति ८५ हजार रुपैयाँ सयकडा ५ रुपैयाँका दरले ऋण काढेर मासिक ९ सय तलब हुने सम्झौता गरी कतार पुगेका थिए । सम्झौता भएअनुसारको काम नभएपछि आफुहरुलाई सम्झौता अनुसारकै काम दिन माग गर्दा केही दिनमै उनीहरुलाई कम्पनीले निकालेको थियो । सडकमा बस्दै आएका कामदारहरु नेपाल फर्काउने बिषयमा उनीहरुको परिवारले मेनपावर कम्पनीका प्रतिनिधिलाई बारम्बार भनेपनि वास्ता नगरेपछि पत्रकार सम्मेलन गरी आफन्त सकुशल नेपाल ल्याउन मेनपावरले जिम्मा लिनु पर्ने माग गरेका छन् ।
यसै बिषयमा इलाका प्रहरी कार्यालय बिर्तामोडमा एक महिनाअघि यी दुवै मेनपावरका प्रतिनिधी बिकल भट्टराई र प्रविन राउत, बैदेशिक रोजगार ब्यावसायीका प्रतिनिधी धनवहादुर पङधाकले एक महिनाभित्र सम्झौता गरेअनुसारको काममा लगाउने भनेका थिए । खान बस्नको बन्दोबस्त गर्ने, तोकिएको तलब दिने भनिएपनि हालसम्म कुनै कामको ग्यारेन्टी नभएको पीडित परिवारले जानकारी गराए । उल्टै पिडित परिवारलाई छलफलमै म्यानपावरका प्रतिनिधिहरुले जे गर्छौ गर भन्ने धम्की दिने गरेको पिडितहरुको भनाई रहेको छ ।
यस विषयमा बुझ्न ब्यवसायीलाई सम्पर्क गर्न खोज्दा उनीहरूसँग सम्पर्क हुन सकेन।




Comments