युनियनद्वारा दमकमा पत्रकारीता तालिम



२८ असार, दमक।
लोकतन्त्रविना प्रेस जगत सुरक्षित नहुने झापाको दमकमा आज आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । झापाको दमकमा नेपाल प्रेस यूनियन माईपश्चिम क्षेत्रीय समितिले आयोजना गरेको तीन दिने आधारभूत पत्रकारिता तालिमको उद्घाटन कार्यक्रममा बोल्दै सहभागहरुले लोकतन्त्र बलियो बनाउन प्रेस जगतको भूमिका उल्लेखीय हुने जोड दिएका थिए । उनीहरुले लोकतन्त्रमा पूर्ण प्रेस स्वतन्त्रताको विकल्प नभएको भन्दै हालको संविधानको मस्यौदाले यसलाई कुण्ठित गराउने खालको देखिएको आरोप लगाएका थिए ।
कार्यक्रमकी प्रमुख अतिथि कांग्रेसकी सभासद् महेन्द्रकुमारी सुब्बाले लोकतन्त्रको संस्थागत विकासमा सञ्चारमाध्यमहरुको भूमिका सधैं रहने बताइन्। उनले नयाँ बन्ने संविधानमा पूर्ण प्रेस स्वतन्त्रता कायम राख्नु पर्ने उल्लेख गरिन् ।



कार्यक्रममा यूनियनका जिल्ला अध्यक्ष कृष्ण हुमागाईले लोकतन्त्र विना पूर्ण प्रेस सुरक्षित नहुने भएकाले यसको पक्षमा यूनियन प्रष्टकासाथ सक्रिय रहेको बताए ।
त्यस्तै, कांग्रेसका क्षेत्रीय सभापति शेरवहादुर भट्टराईले नयाँ संविधान प्रेसमैत्री बन्नु पर्ने बताएका थिए । प्रेसलाई कुण्ठित गराउने कामले कसैको हित नगर्ने उल्लख गर्दै सभापति भट्टराईले कांग्रेस सधैं प्रेसको पक्षमा भएको जोड दिए ।
उद्घाटन कार्यक्रममा प्रेस चौतारी झापाका सचिव मनकुमार गदाल, पत्रकार मञ्चका उपाध्यक्ष विष्णु पौडेल, प्रेस यूनियनका जिल्ला सचिव गिरीराज भट्टराई लगायतले लोकतन्त्रसँगै नागरिक अगुवाईको भूमिकामा नेपाली प्रेसले योगदान पुर्‍याउँदै आएको बताएका थिए ।
दमक-११ स्थित झापापोष्ट दैनिकको कार्यालयमा सञ्चालन भएको तालिममा दुई दर्जन प्रशिक्षार्थीहरुको सहभागीता रहेको छ । तालिम यूनियनका अध्यक्ष विष्णु सुब्बाको अध्यक्षतामा भएको थियो भने कांग्रेसका नेताहरु राजन ढुङ्गाना, घनेन्द्रराज योङया, नेविसंघ जिल्ला सभापति रोशन विष्ट, दमक उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश प्रसाईं, झापा पोष्ट दैनिकका सम्पादक रेगिना भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
तालिममा रेडियो कञ्चनजंघाका केशव भट्टराई, चेतन अधिकारी र उमाकान्त खनाल सहजकर्ता छन्।





Comments