बेग्लाबेग्लै सवारी दुर्घटनामा २ जनाको मृत्यु, ८ घाइते




उर्लाबारीमा बसको ठक्करबाट दुर्एटनामा परेको मोटरसाइकल
१९ जेठ, दमक।
मोरङ, सुनसरी र झापामा सोमबार र मंगलबार भएका सडक दुर्घटनामा २ जनाको ज्यान गएको छ । ती घटनामा ८ जना घाइते भएका छन् ।
मोटरसाइकललाई बसले बसले ठक्कर दिँदा मंगलबार बिहान मोरङको उर्लाबारीमा एक जनाको मृत्यु भएको छ । बिहान पौने ८ बजेतिर उर्लाबारी चोकमा भएको दुर्घटनामा उर्लाबारी-३ का १९ बर्षिय सबिन पौडेलको मृत्यु भएको हो । दुर्घटनामा अन्य दुईजना घाइते भएका छन्।
पश्चिमबाट पूर्वतर्फ आउँदैगरेको ना ५ ख ४७८३ नम्बरको यात्रुवाहक बसले इटहराबाट मधुमल्लातिर जाँदै गरेको मे २ प ३५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलमा तीनजना सवार थिए । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सबिनको उपचारका क्रममा बिराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।


दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार उर्लाबारी-३ कै २८ बर्षिया उमा निरौला र इलाम साक्फारा-५ का २६ बर्षिय चित्र राई घाइते भएका छन् । उनीहरुमध्ये निरौलाको उर्लाबारीस्थित अरनिको हस्पिटलमा तथा राईको न्यूरो हस्पिटल बिराटनगरमा उपचार भइरहेको छ ।
ठक्कर दिने बस र त्यसका चालकलाई उर्लाबारी प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसअघि सुनसरीको इटहरी नगरपालिका २४ स्थित सेउती पुलमा सोमबार बिहान ८ बजेतिर को १६ प ६०९२ नम्बरको स्कुटरलाई नम्बर नखुलेको सवारीले ठक्कर दिँदा स्कुटर चालक इटहरी २६ की २५ वर्षिया सुष्मा राईको घटनास्थलमै मृत्यु भएको थियो। ठक्कर दिने सवारी फरार रहेकाले खोजतलाश भइरेहको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।



त्यसैगरी झापाको गरामनी ३ मा सोमबार अपरान्ह सवा ४ बजेतिर दुई मोटरसाइकल ठोक्किँदा चारजना घाइते भएका छन्। मे ६ प ५७०१ र मे ६ प ८३१५ नम्बरका मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुबै मोटरसाइकलका चालक बिर्तामोड नगरपालिका ६ का ४६ वर्षिय हिरालाल भण्डारी र डाँगीबारी ४ बस्ने ३० वर्षिय सुरेन्द्र उप्रेती तथा मोटरसाइकल पछाडी सवार अन्य दुईजना घाइते भएका हुन्। घाइते सबैको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
सोही साँझ साढे ६ बजेतिर कोशी राजमार्ग अन्तरगत मोरङको बिराटनगरमा को ६ प ४८७७ नम्बर को मोटरसाइकलको ठक्करबाट साइकलयात्री मोरङ झोराहाट २ बस्ने बर्ष २२ को ज्ञानु उराब गम्भीर घाइते भएकाले उपचारका लागि न्युरो अस्पताल बिराटनगर पुर्‍याइएको छ।
त्यस्तै पूर्वपश्चिम राजमार्ग अन्तरगत सुनसरीको इनरुवामा साँझ साढे ६ बजेतिर नम्बर नखुलेको निलो पल्सर मोटरसाइकलको ठक्करबाट सुनसरी डुम्राहा ३ बस्ने ३० वर्षिय साइकल यात्री गोपाल कार्की गम्भिर घाइते भएका छन्। घाइते कार्कीलाई उपचारका लागि न्युरो अस्पताल बिराटनगर लगिएको प्रहरीले जनाएको छ।



Comments