हसन्दह खुल्ला दिसामुक्त तथा पूर्ण खोप सुनिश्चित गाविस घोषणा



सरोज बस्नेत
२६ जेठ, उर्लाबारी।
मोरङको हसन्दह गाविस खुल्ला दिसामुक्त तथा पूर्ण खोप सुनिश्चित गाविस घोषणा भएको छ ।
हसन्दह-१ स्थित अमरसिंह उच्च माविमा मंगलबार एक कार्यक्रमको आयोजना गरी हसन्दह गाविसलाई खुल्ला दिसामुक्त तथा पूर्ण खोप सुनिश्चित गाविस घोषणा गरिएको हो । एक घर एक चर्पी हाम्रो अभियान, सफा र सुन्दर गाउँ हाम्रो पहिचान भन्ने उद्देश्यका साथ मोरङका स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीको प्रमुख आतिथ्यमा हसन्दहलाई खुल्ला दिसामुक्त तथा पूर्ण खोप सुनिश्चित गाविस घोषणा भएको छ । सो गाविसमा २०६९ सालदेखि खुल्ला दिसामुक्त तथा पूर्ण खोप सुनिश्चित गाविस घोषणा अभियान सुरु भएको थियो ।




२५.८५ बर्ग किलोमिटर क्षेत्रफलमा रहेको हसन्दह गाविसलाई प्रभावकारी अनुगमन गरी नमूना खुल्ला दिसामुक्त तथा पूर्ण खोप सुनिश्चित गाविस बनाउन प्रतिवद्ध रुपमा लाग्ने गाविस सचिब टेकनाथ घिमिरेले बताएका छन् । हसन्दह-१ मा २ सय ७७ घरधुरीमध्ये २ सय ६१ परिवार पक्की र १६ परिवार संयुक्त चर्पीको प्रयोग गर्ने गरेका छन् । त्यस्तै हसन्दह-२ मा १ सय ८८ घरधुरीमध्ये १ सय ७७ पक्की, ११ संयुक्त, वडा नं. ३ मा ३ सय ९८ घरधुरीमध्ये ३ सय ७१ पक्की र २७ संयुक्त, वडा नं. ४ मा २ सय ९७ घरधुरीमध्ये २ सय ८३ पक्की र १४ संयुक्त चर्पीको प्रयोग गर्ने गरेको सहजकर्ता तिलक नेपालीले जानकारी दिए।
त्यस्तै, वडा नं. ५ मा ३ सय ५ घरधुरीमध्ये २ सय ८५ पक्की र २० संयुक्त, वडा नं. ६ मा २ सय ३३ घरधुरीमध्ये २ सय २० मा पक्की र १३ संयुक्त, वडा नं. ७ मा ५ सय ५२ घरधुरीमध्ये ५ सय १९ पक्की र ३३ संयुक्त चर्पीको प्रयोग हुने गरेको छ । त्यस्तै वडा नं. ८ मा ३ सय १८ घरधुरीमध्ये ३ सय ३ पक्की र १५ संयुक्त तथा वडा नं. ९ मा ८९ घरधुरीमध्ये ८४ पक्की र ५ संयुक्त चर्पीको प्रयोग हुने गरेको छ । हसन्दहमा २ हजार ६ सय ५७ घरधुरीमध्ये २ हजार ५ सय ३ घरधुरी पक्की र १ सय ५४ घरधुरी संयुक्त चर्पीको प्रयोग गर्ने गरेको सरसफाई अभियानका सचिब शैलेन्द्रप्रसाद गुप्ताले जानकारी दिएका छन्।

खुल्ला दिसामुक्त तथा पूर्ण खोप सुनिश्चित गाविस घोषणा कार्यक्रममा बोल्दै मोरङका स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीले मोरङ जिल्लालाई सन् २०१५ अन्त्यसम्ममा खुल्ला दिसामुक्त बनाउने योजना रहेको बताए। खुल्ला दिसामुक्त घोषणा गर्नु मात्र ठूलो कुरा नभएको भन्दै प्रभावकारी रुपमा कार्यान्वयन गर्नु पर्नेमा उनले जोड दिए। खुल्ला दिसाको कारण वातावरणमा नकारात्मक असर पुर्‍याउनुको साथै विभिन्न प्रकारका सरुवा रोग लाग्ने भएकाले सबै सचेत रहनु पर्ने उनको भनाई थियो।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख भानु योङ्देन, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय मोरङका प्रमुख मोहन कार्की, प्लान नेपाल मोरङका कार्यक्रम यूनिट मेनेजर कालभान राई, नेपाल स्वास्थ्यको लागि पानी (नेवा) विराटनगरका क्षेत्रीय प्रवन्धक बिष्णुप्रसाद पोख्रेल, स्थानीय राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यार्थी तथा स्थानीयको सहभागिता रहेको थियो । सोही अवसरमा खुल्ला दिसामुक्त तथा पूर्ण खोप सुनिश्चित गाविस घोषणा महत्वपूर्ण भूमिका खेल्नेहरुलाई सम्मान समेत गरिएको छ ।
गाविस सचिव तथा सरसफाई समितिका अध्यक्ष टेकनाथ घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा उर्लाबारीको यूनिक डान्स सेन्टरले आकर्षक नृत्य प्रस्तुत गरेको थियो।





Comments