शिविरमा शरणार्थी दिवस मनाइयो




४ असार, दमक।
विश्व शरणार्थी दिवसको अवसरमा पूर्वका भुटानी शरणार्थी शिविरमा विभिन्न कार्यक्रमहरु गरी शरणार्थी दिवस मनाइएको छ । यसबर्षको विश्व शरणार्थी दिवस 'शरणार्थीहरु तपाईं र म जस्तै मानिस हुन् । उनीहरु साधारण मानिस हुन जो असाधारण जीवन बाँचिरहेका छन्' भन्ने नाराका साथ शिविरमा यस दिवस मनाइएको छ ।
यसैक्रममा दमकको बेलडाँगी-१ स्थित शिविरमा शरणार्थी तथा दातृ निकायका संस्थाहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरी शरणार्थी दिवस मनाएका हुन् । २० जुनमा पर्ने विश्व शरणार्थी दिवस सो दिन सार्वजनिक बिदा परेकोले त्यसको अघिल्लो दिन आज कार्यक्रम गरिएको हो ।



शिविरमा भएको कार्यक्रममा भुटानीहरुले आफ्नो नागरिक जीवनको सम्झना गर्दै नाराजुलुस र साँस्कृतिक प्रस्तुतिका साथ सभाको आयोजना गरिएको थियो । सभामा सहभागी भुटानीहरुले स्वदेश प्रतिको आस्था अझै भइरहेको चर्चा गरेका थिए। सो अवसरमा आयोजित रक्तदानमा तीन महिलासहित १९ जनाले रक्तदानसमेत गरेका थिए । सभा शुरु हुनुअघि भएको र्‍यालीमा निकालिएको थियो ।बेलडाँगी-१ का शिविर उपसचिव टिकाराम रसाइलीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रसंघीय शरणार्थी आयोगको दमकस्थित उपशाखा कार्यालयका प्रमुख सिन्जु कुबोले विश्व शरणार्थी दिवसको नारासहित आफ्नो मन्तब्य राखेका थिए।
बेलडाँगी १ का शिविर सुपरिबेक्षक हरि पोखरेल, महिला मञ्चकी बिष्णुमाया ढुंगाना लगायतले मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन दधिराम ढुंगानाले गरेका थिए।
तस्वीर - विश्व शरणार्थी दिवसका अवसर पारेर आज दमकको भुटानी शरणार्थी शिविरमा निकालिएको र्‍यालीका सहभागीहरु । (विष्णु सुब्बा)


Comments