सभासद सहितको टोलीद्वारा कमल नदी नियन्त्रण कार्यको अनुगमन



८ असार, दमक।
झापाको धरमपुरस्थित कमल नदीमा निर्माणाधीन नदी नियन्त्रण योजनाको मंगलवार सभासद महेन्द्र कुमारी सुव्वासहितको एक टोलीले स्थलगत अनुगमन गरेको छ। धरमपुर- ७ र ८ नम्वर वडाको झुनामारीमा करिब ४० लाख रुपैयाँको लागतमा निर्माण भइरहेको १ सय ८ मिटर लामो बाँधको सभासद सुव्वासहितको एक टोलीले स्थलगत अनुगमन गरेको हो।
नदी नियन्त्रणका लागि त्यहाँ सञ्चालित कामको स्थलगत निरीक्षण गरिएको टोलीमा संलग्न नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ७ का सभापति शेरबहादुर भट्टराईले जानकारी दिए ।
नेपाल सरकारको गुरुयोजनामा रहेको जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयअन्तर्गत चालु आर्थिक वर्षको ४० लाख रुपैयाँको बजेटमा बाँध निर्माण कार्य भइरहेको जनाइएको छ ।




सो क्षेत्रमा निर्माण भइरहेको बाँध निर्माण भइसकेपछि पछि धरमपुर-७ लगायतका त्योभन्दा तल रहेका वडाहरुमा विगत लामो समयदेखि कमल खोलाले पुर्‍याउँदै आएको नदी कटान तथा डुबानको समस्याबाट राहत पुग्ने नेपाली कांग्रेस धरमपुर गाउँ सभापति विनोद ढकालले जानकारी दिए ।
यस अघिसम्म सो स्थानमा नदी नियन्त्रणको काम नहुँदा धरमपुर-७ स्थित झुनामारी वस्तीका एक सय घर परिवारभन्दा वढी रहेको आदिवासी राजबंशी वस्ती नदी कटान तथा डुवानको उच्च जोखिममा पर्दै आएको थियो । यसवर्ष निर्माण गरिएको बाँधले वर्षाको समयमा सो नदीका कारण हुने समस्याहरुबाट राहत पाउने स्थानीय ज्ञानु खड्काले बताए ।
यसरी नैक सभासद सुव्वाको टोलीले मंगलवार नै धरमपुर- ८ स्थित सोही नदीबाट प्रभावित माझी बस्तीको पनि अनुगमन गरेको थियो । धरमपुर गाविसमा प्रत्येक वर्ष पुर्‍याउदै आएको नदी कटान तथा डुवानको समस्यालाई समाधान गर्न आउँदो आर्थिक बर्षमा जनताको तटबन्धन कार्यक्रम अन्तर्गत १ करोड रूपैयाँभन्दा बढिको योजनाबाट दीर्घकालीन नदी नियन्त्रणको काम शुरु हुन लागेको समेत सभासद सुब्बाले जानकारी दिइन् ।
सो कामका लागि मन्त्रालयको टोलीले समेत स्थलगत अध्ययन तथा अनुगमन गरिसकेको जनाइएको छ ।


धरमपुर गाविसको करिब १० किलोमिटर क्षेत्रलाई प्रत्यक्ष प्रभाव पार्दै आएको कमलखोला कटान नियन्त्रणका लागि यसअघि नै बडा नम्बर १ मा बाँध निर्माण कार्य सम्पन्न भइसकेको जनाइएको छ । त्यस्तै, सोही गाविस वडा नम्बर ८ को दुई स्थानमा अघिल्लो वर्ष स्थानीयहरुको प्रयासमा निर्माण गरिएको ढुङ्गाजाली तथा बोरा र वाँसबाट निर्माण गरिएको बाँधलाई नदीले पूर्ण् रुपमा क्षति पुर्‍याएपछि नदी कटानको समस्या उच्च बन्दै गएको थियो ।
सभासद सुब्बासँगै नेपाली कांग्रेस क्षेत्रीय सभापति भट्टराई, सामाजिक अगुवा घनेन्द्र सुब्बा, नेपाल विद्यार्थी संघका पूर्व जिल्ला सभापति पर्शुराम रिजाल, जिल्ला सदस्य मनोज खतिवडा, क्षेत्रीय सदस्य जितु धिमाल लगायतको सहभागीता रहेको थियो । सो टोलीले स्थानीय बासिन्दाहरुसँग निर्माणाधीन कार्यका बारेमा जानकारी लिएको थियो।





Comments