आफ्नै लगानीमा स्थानीयवासीले बनाए साढे चार किलोमिटर बाटो





२६ जेठ, विर्तामोड।
झापाको गरामनी, चकचकी र गोलधाप गाविसका दुई सय घर परिवारले आफ्नै लगानीमा साढे चार किलोमिटर बाटो निर्माण गरेका छन् ।
गरामनी-९ सापडिग्री हुँदै चकचकी-७ जनता होली तरी पुनः गरामनी-९ बाट गोलधाप-४ जनजागृति उमावि अगाडि कालोपत्रेमा जोड्ने बाटो स्थानीयवासीले निर्माण गरेका हुन् । अत्यन्त साँघुरो उक्त बाटोलाई ३० फिट र पैनी भएको ठाउँमा ३५ फिट चौडा कायम गरी माटो भर्ने काम सम्पन्न गरिएको निर्माण समितिका अध्यक्ष अम्बरबहादुर कन्दङ्वाले जानकारी दिए ।
तीन चरणमा निर्माण सम्पन्न गरिएको उक्त बाटोका लागि एक हजार दुई सय ३२ जना मजदुर परिचालन गरिएको र ६ लाख २१ हजार नौ सय ६३ रुपैयाँ खर्च भएको निर्माण समितिका सचिव मोहनकुमार उप्रेतीले बताए ।



समितिले उक्त बाटोको स्तरोन्नति गरी हेभी ग्राभेलका लागि जिल्ला विकास समिति समक्ष बजेट माग गरेको छ । गाविसको सिफारिस र जिल्ला प्राविधिक कार्यालयबाट एक करोड १७ लाख ८७ हजार नौ सय १२ रुपैयाँ ५० पैसाको लागत इस्टमेट सहित हेभी ग्राभेलका लागि बजेट माग गरिएको हो । अध्यक्ष कन्दङ्वा, सचिव उप्रेती सहितको टोलीले प्रतिवेदन र उक्त माग योजनासहितको फायल आज मंगलवार जिविस झापामा बुझाएको छ ।
यसैबीच उक्त बाटो निर्माण समितिले एक भेलाको आयोजना गरी आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको छ । अध्यक्ष अम्बरबहादुर कन्दङ्वाले प्रस्तुत गरेको सम्पूर्ण विवरण समेटिएको प्रतिवेदन भेलाले पारित तथा अनुमोदन गरेको छ । जस अनुसार ६ लाख २५ हजार ६१ रुपैयाँ आम्दानी भई ६ लाख २१ हजार नौ सय ६३ रुपैयाँ खर्च भएको र तीन हजार ९८ रुपैयाँ बचत भएको छ ।
अध्यक्ष कन्दङ्वाको अध्यक्षता र नेपाली कांग्रेसका २ नम्बर क्षेत्रीय सभापति मोहनसिंह कार्कीको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको थियो । कार्यक्रममा एमाओवादीका जिल्ला नेता सीपी कडरिया, कांग्रेसका बिर्तामोड सभापति भोजराज सिटौला, एमाओवादी गरामनी अध्यक्ष मोहन सुब्बाले मन्तब्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन समितिका सचिव मोहनकुमार उप्रेतीले गरेका थिए ।



Comments