मोहनमाया मावि जिल्ला उत्कृष्ट




७ असार, दमक।
झापाको बिर्तामोडस्थित मोहनमाया मावि यसवर्षको एसएलसी परीक्षामा जिल्ला उत्कृष्ठ भएको छ । हालै सार्वजनिक भएको नतिजा अनुसार सामुदायिकतर्फ सो विद्यालयले ८९ दशमलव १९ प्रतिशत विद्यार्थी पास गराएर जिल्लाकै उत्कृष्ट बनेको हो ।
महिलाले नेतृत्व गरेको यो विद्यालयले गएको तीन वर्षयता जिल्लाकै उत्कृष्ट विद्यालय बन्न सफल हुँदै आएको छ । बिर्तामोड नगरपालिका-२ रामचोकमा रहेको मोहनमाया माविबाट यसवर्षको एसएलसी परीक्षामा सामेल भएका ३७ जना विद्यार्थीहरु मध्येवाट ३१ जना उत्तीर्ण गराउँदै जिल्ला उत्कृष्ट विद्यालय बन्न सफल भएको जिल्ला शिक्षा कार्यालय झापाका जिशिअ डिल्ली प्रसाद लुइँटेलले जानकारी दिए ।




यसवर्षको एसएलसी परिक्षामा झापा जिल्लाबाट सामुदायिक विद्यालय तर्फबाट ६ हजार ४ सय ४७ जना विद्यार्थी परीक्षामा सामेल थिए । ती मध्येबाट यसवर्ष जिल्लामा ३१ दशमलब ८६ प्रतिशत विद्यार्थीहरु पास भएको जिशिअ लुइँटेलले जानकारी दिए ।
सामुदायिक विद्यालयहरुबाट यस वर्ष जिल्लाबाट विशिष्ट श्रेणीमा १९, प्रथम श्रेणीमा ४ सय ८१, द्वितीय श्रेणीमा १ हजार ४ सय २९ र तेस्रो श्रेणीमा १ सय २५ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
यसरी नै निजी विद्यालयतर्फ ८ हजार ५ सय ५९ विद्यार्थीहरु सहभागी रहेकोमा ४ हजार ७ सय ४६ जना विद्यार्थीहरु उत्तीर्ण भएका छन् । निजी विद्यालयहरुको यो उत्तीर्ण दर ५५ दशमलब ४६ प्रतिशत भएको जनाइएको छ ।
निजी विद्यालयहरुको तर्फबाट विशिष्ट श्रेणीमा ४ सय ६८ जना, प्रथम श्रेणीमा ३ हजार १ सय ४२, द्वितीय श्रेणीमा १ हजार १ सय १६ र तेस्रो श्रेणीमा २० जना विद्यार्थीहरु उत्तीर्ण भएका छन् ।





Comments