पूर्व सांसद कोइरालाको अन्त्येष्टी



२४ जेठ, दमक।
पूर्व सांसद तथा नेपाली कांग्रेसका नेता डा. गोपाल कोइरालाको आज दाहसंस्कार गरिएको छ ।
कलेजो समस्याका कारण लामो समयदेखि थलिएका कोइरालाको हिजो साँझ बिराटनगर ६ बरगाछीस्थित आफ्नै निवासमा निधन भएको थियो । उनको आज बिराटगर सिंगिया खोलामा रहेको परोपकार घाटमा दाहासंस्कार गरिएको हो।
कोइरालाको पार्थिव शरीरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सभासद डा. शेखर कोइरालाले पार्टीको झण्डा ओढाएर श्रद्धान्जली दिएका थिए भने मृतकका जेठा छोरा सञ्जयले दगबत्ती दिएका थिए। श्रद्धान्जली सभामा केन्द्रीय सदस्य कोइरालाले डा. कोइरालाको निधनले पार्टीलाई अपुरणीय क्षति भएको बताएका थिए।उनले कोइरालाको निधनले पार्टीले एक असल योद्धा तथा अभिभावक गुमाएको बताए।




२००७ सालको प्रजातन्त्रको क्रान्तिमा भोजपुरमा रहेर पार्टीको नेतृत्व गर्नुभएका स्वर्गीय डा. कोइरालाको प्रजातन्त्रको क्रान्तिमा लागेवापत दुईपटक तत्कालीन सरकारबाट सर्वस्व हरणसमेत भएको थियो । पछि वि.सं. २०२३ सालमा तराई झरेर झापालाई उनले आफ्नो कर्मभूमि बनाएका थिए। झापाको तत्कालीन क्षेत्र नं. ६ बाट जननिर्वाचित सांसदसमेत बनेका थिए। उनका सञ्जय, तारा र भरत तीन छोरा साथै शिला, मञ्जु र सुधा तीन बुहारी र एक छोरी छन्। स्वर्गीय कोइरालाको श्रद्धान्जलीको लागि उनको निवासमा बिहानै पार्टीका कार्यकर्ता तथा शुभचिन्तकको ठुलो भिड लागेको र उनको शव यात्रामा हजारौंको उपस्थिति रहेको नेपाली कांग्रेस झापा क्षेत्र नं. ७ का क्षेत्रीय सदस्य रोशन कुमार गौतमले जानकारी दिए।



Comments