सरकारबाट बाहिरिने सम्भावन छैन - मन्त्री वस्नेत



१२ असार, दमक।
उद्योग मन्त्री महेश वस्नेतले अबको राष्ट्रिय सरकारको नेतृत्व एमालेले गर्ने बताएका छन् । उनले प्रमुख दलहरुवीच भएको सहमतिअनुसार नयाँ संविधान जारी भएलगत्तै बर्तमान सरकारको औचित्य सकिने पनि बताए । त्यसपछि राष्ट्रिय सरकारको निर्माण हुने र त्यसको नेतृत्व एमालेले गर्ने बस्नेतले प्रष्ट्षाए। अबको दुई महिनापछि एमालेले त्यस्तो सरकारको नेतृत्व गर्ने बस्नेतले दावीसमेत गरे ।
शनिवार झापाको दमक-१५ स्थित एमाले पार्टी कार्यालयमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उद्योगमन्त्री वस्नेतले तत्काल नै एमाले सरकारवाट बाहिरिने कुनैपनि सम्भावना नरहेको खुलासा गरे ।



भूकम्पबाट ७ खर्व ६० अर्बभन्दा बढी क्षतिको अनुमान गरिएको र ३० लाख बढी भौतिक संरचनाहरुमा क्षति पुगेकाले यसलाई शिक्षाको रुपमा लिँदै आजको चुनौतीलाई भोलिका लागि अवसरका रुपमा लिन सक्नुपर्ने पनि बस्नेतको भनाई थियो । भूकम्पका कारण १ सय १३ वटा उद्योगमा क्षति पुग्दा १७ खर्ब बराबरको नोक्सानी व्यहोर्नु पर्दा यसको मारमा सवैभन्दा बढी साना तथा मझौला उद्योगहरु परेको मन्त्री बस्नेतले बताए । उनले भने, 'स्वदेशी उत्पादनलाई बढावा दिन सरकारले साना तथा मझौला उद्योगहरुको दिगो विकासका लागि छुट्टै कार्यक्रम ल्याउन लागेको छ।'
बस्नेतले यसअघि शनिवार नै दमक-१९ मा प्रस्तावित औद्योगिक, आर्थिक विकास क्षेत्रको स्थलगत अनुगमन समेत गरेका थिए । अनुगमनका क्रममा यहाँस्थित आयोजित एक कार्यक्रममा मन्त्री बस्नेतले २०४४ सालपछि उद्योगका क्षेत्रमा कुनै पनि कार्यक्रमहरु आउन नसकेकाले बर्तमान सरकारले यो क्षेत्रलाई उच्च महत्व दिएको बताए । यस वर्षमात्र सरकारले मुलुकका ६ स्थानमा औद्योगिक, आर्थिक विकास क्षेत्रका लागि प्रस्तावित गरेमध्ये दमकलाई सरकारले उच्च महत्वका साथ हेरेको मन्त्री बस्नेतको भनाई थियो । यस क्षेत्रको पूर्वाधार विकासका लागि चाल आर्थिक बर्षमा नै उद्योग मन्त्रालयको रकमान्तर गरी २ करोड रूपैयाँ बजेट बिनियोजन भइसकेकाले दमक नगरपालिकामार्फत यस क्षेत्रसम्म जोड्ने सडकको स्तरोन्नति गरिने पनि बस्नेतले बताए ।
सो अवसरमा दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले सो क्षेत्रको वस्तुस्थितिका साथै हालसम्म भए गरेका कामहरुको बारेमा जानकारी गराएका थिए ।








Comments