यातायात सेवा केन्द्र दमकमा ल्याउन पहल



२६ जेठ, दमक।
झापाको दमकमा यातायात व्यवस्था कार्यालयको सेवा केन्द्र स्थापनाका लागि पहल थालिएको छ । झापासहित इलाम, पाँचथर, ताप्लेजुङ जिल्लाका यातायात सम्बन्धी सवै काम झापाको बिर्तामोडस्थित अञ्चल कार्यालयबाट सञ्चालन हुँदैआएको र यसले पश्चिमी क्षेत्रका सेवाग्रहीलाई असुविधा पुगेको भन्दै सेवा केन्द्र स्थापनाका लागि दमक नगरपालिकाले पहल थालेको हो ।
नगरपालिकाले सेवा केन्द्र स्थापनाका लागि दमक पूर्वाधारयुक्त क्षेत्र भएकाले आवश्यक पहल थालेको कार्यकारी अधिकृत युवराज दाहालले बताए।



उनले यसका लागि दमक नगरपालिकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पत्र पठाई सेवा केन्द्र बिस्तार गर्न माग गरेको जानकारी दिए । सो कार्यको सहयोगका लागि नगरपालिकाले नेकपा एमालेका अध्यक्षसमेत रहेका झापा क्षेत्र नं ७ का सभासद केपी शर्मा ओली, एमालेका मुख्य सचेतक अग्नि खरेल र नेपाली कांग्रेसकी सभासद महेन्द्रकुमारी सुब्बालाई समेत पत्र बुझाएको छ ।
नगरपालिकाका कार्यकारी अधिकृत दाहालले सेवा केन्द्रको स्वीकृतिको अन्तिम तयारी भएको र आवश्यक सबै निकायमा समन्वय भइसकेकाले सेवा केन्द्र स्थापना हुने लगभग निश्चित भएको जानकारी दिए । दमकमा सेवा केन्द्र स्थापना भए लाखौं सर्वसाधारणले यातायातका साधनको दर्ता तथा अनुमति, नविकरण लगायतका काम लिएर विर्तामोड र इटहरीसम्म धाउनुपर्ने बाध्यता हट्ने उनको भनाई छ ।






Comments