बाढीले आधा दर्जन झोलुङ्गे पुल बगायो, २ हाइड्रो पावर हाउसमा क्षति



२८ जेठ, सङ्खुवासभा।
सङ्खुवासभाको हेवा खोलामा बाढी आउँदा आधा दर्जन झोलुङ्गे पुल तथा दुईवटा पावर हाउस — वरुण हाइड्रो पावर हाउस र निगुरे पावर हाउसमा क्षति पुगेको छ ।
बाढीले एक हजार रोपनीभन्दा बढी बेंसीफाँटका खेत बगरमा परिणत गरिदिएको छ ।
यसैगरी, चैनपुर नगरपालिका र दोभाने–३ मा अवस्थित दुईवटा घर बाढीले बगाएको छ भने नौवटा घर बाढीको जोखिममा छन् ।





जन्जल गाविसको कुलुवा गौरीभिर र नागी क्षेत्रको भिर खसेर हेवा खोला थुनिँदा गएरातिदेखि लगातार परेको अविरल वर्षाका कारण आएको बाढीले यति धेरै क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कमल थापाले जानकारी दिनुभएको छ ।
त्यस्तै, बाढीले एक दर्जनभन्दा बढी राजकुलो बाढीले भत्काएको छ । उत्तरी क्षेत्रका बाला र ताम्कु जोड्ने झोलुङ्गे पुल सिकिदम पुलसमेत पहिरोमा परेको छ ।
बाढीले अरुण नदीस्थित फ्याकसिन्दामा रहेको फेरीसमेत बगाएको छ । रासस



Comments