बस र ट्याकटर ठक्कर खाँदा ९ घाइते



१८ जेठ, मोरङ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरदुलारीमा आज भएको सवारी दुर्घटनामा ९ जना घाइते भएका छन् ।
विहान पौने ११ बजेतिर यात्रुबाहक बस र ट्रयाक्टर एकआपसमा ठोक्किएर दुर्घटना हुँदा ट्रयाक्टर चालकसहित नौ जना घाइते भएका हुन्।
मोरङको सुन्दर–दुलारी १० मा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १५८५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको को १ त २३०९ नम्बरको ट्रयाक्टर एक आपसमा ठक्कर खाएका थिए।
दुर्घटनामा ट्रयाक्टरका चालक सुन्दर-दुलारी नगरपालिका १० का ४५ वर्षीय विष्णु चौधरी र ट्याक्टरमा सवार रहेका हरि चौधरी घाइते भएका छन्।



त्यसैगरी दुर्घटनामा परी बसमा सवार झापा सत्तिघट्टा ८ का पूर्ण देवान, मोरङ पथरी–शनिश्चरे नगरपालिका ७ का भूपाल कार्की र वडा नं १ की मञ्जु पराजुली, विराटनगर १ की बालिका कार्की र उनको डेढ वर्षीय छोरा सिद्धार्थ, कोशी-हरैचा नगरपालिका १३ का सूर्यबहादुर विश्वकर्मा, वडा नं १ की सीता पराजुली र सुन्दर–दुलारी नगरपालिका १ की देवी पाण्डे घाइते भएका छन्। घाइते अन्य दुईजनाको नाम खुल्न सकेको छैन्। घाइते सबैको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ।
दुवै सवारीका चालकलाई इलाका प्रहरी कार्यालय बेलवारीले नियन्त्रणमा लिएको छ।




Comments