खारेजी प्रकृयामा झापा र मोरङका ९ उमावि




८ असार, दमक।
उच्च माध्यमिक शिक्षा परिषद्ले झापा र मोरङका ९ वटा उच्च माविको सम्बन्धन खारेज गर्ने प्रक्रिया सुरु गरेको छ ।
लामो समयदेखि स्विकृति लिएर अध्ययन अध्यापनको कार्य नगरेका र तोकिएको मापदण्ड पूरा नगरेका त्यस्ता विद्यालयहरुको सम्बन्धन खारेजीको प्रक्रिया सुरु गरिएको हो । उच्च माध्यमिक शिक्षा परिषद्का अनुसार झापाबाट पूर्वाञ्चल उच्च मावि दमक, बिर्तामोडको लिटल फ्लावर्स उच्च मावि र धुलाबारी उच्च माविको सम्बन्धन खारेज हुन लागेको हो ।




यसैगरी मोरङबाट देवकोटा मेमोरियल उच्च मावि, डेढराज सेवलीदेवी तोदी डिएभी विश्व भारती, राम मेमोरियल, सगरमाथा उच्च मावि, पेरागन एकेडेमी उच्च मावि र कन्या क्याम्पस रहेका छन् । परिषद्ले कक्षा सञ्चालन नगरेका यीसँगै देशभरका ७२ वटा उच्च माध्यमिक विद्यालयहरु खारेजीमा पर्ने जनाएको छ।
उच्च माध्यमिक शिक्षा परिषद्ले ती उमाविहरुलाई खारेज गर्न परिषद्को १८२ औँ बैठकबाट निर्णय गराएको छ । परिषद्ले ती उमाविको नाम सार्वजनिक गर्दै साउन १ बाट लागू हुने गरी खारेजी प्रक्रिया अगाडि बढाइएको र सम्बन्धन खारेजी गर्नु नपर्ने कुनै मनासिव कारण भएमा १५ दिनभित्र लिखित प्रमाणसहित स्पष्टीकरण पेश गर्न भनेको छ ।


Comments