दुर्घटनामा एकको मृत्यु, तीन घाइते



२१ जेठ, दमक।
झापा र मोरङमा भएका सवारी दुर्घटनामा एक महिलाको ज्यान गएको छ । ती घटनामा दुई बालकसहित तीनजना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड १ मा आज बिहान यात्रुबाहक बसले साइकललाई ठक्कर दिँदा एक महिलाको ज्यान गएको हो।
बिहान पौने १० बजेतिर मे १ क २८८ नम्बरको यात्रुबाहक बसले साइकललाई ठक्कर दिँदा साइकलमा सवार स्थानीय २६ बर्षिया हेमा धितालको मृत्यु भएको हो। उपचारका लागि बिर्ता सिटी अस्पताल बिर्तामोडतर्फ ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।




दुर्घटनामा उनका ५ बर्षिय छोरा इशान धिताल घाइते भएका छन्। सोही अस्पतालमा उपचार भईरहेको बालकको अवस्था सामान्य रहेको बुझिएको छ।
त्यसैगरी पूर्वपश्चिम राजमार्ग अन्तर्गत नै बिर्तामोड ६ मा ट्रकको ठक्करबाट सोही न.पा. वडा नं. ५ बस्ने ४५ वर्षिय रुद्र परियार घाइते भएका छन्। उनलाई पैदल हिँडिरहेको अवस्थामा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको नम्बर नखुलेको ट्रकले बुधबार राती ८ बजे ठक्कर दिएको थियो। गम्भिर घाइते उनको धरान घोपामा उपचार भइरहेको छ। ठक्कर दिने ट्रकसहित चालक फरार रहेकाले त्यसको पहिचान तथा खोजी भइरहेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ।
उता मोरङको पथरी-शनिश्चरे नगरपालिका १ मा हिजो साँझ साढे ५ बजेतिर मे १ ख १८२९ नम्बरको बसले ठक्कर दिँदा एक भुटानी शरणार्थी घाइते भएका छन् ।
बसको ठक्करबाट शनिश्चरे शिविरका ४० वर्षिय लोक बहादुर बोहोरा गम्भीर घाइते भएका हुन्। उनको न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ प्रहरीले जनाएको छ ।
बसका चालकलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ।



Comments