एमालेले ४ सय बोरा चामल रामेछाप पठायो



१४ असार, दमक।
नेकपा एमाले क्षेत्र नम्वर ७ झापाले आज बिहान ४ सय ७ बोरा चामल भूकम्प पिडितलाई दिन रामेछापको मन्थली पठाएको छ ।
दमक चोकमा एक कार्यक्रमको आयोजना गरेर एमाले क्षेत्रीय कमिटीले ट्रकमा चामल पठाएको हो ।
गत बैशाख १२ र २९ गते आएको भूकम्पमा परी घरवार विहिन भएकाहरुलाई प्रदान गरिने राहत सामाग्री क्षेत्रीय कमिटी अध्यक्ष नेत्र दाहालको नेतृत्वको ४ सदस्यीय टोलीले भोलिसम्म मन्थली पुर्‍याउने एमालेले जनाएको छ ।




मन्थलीको वडानम्वर २ का बासिन्दालाई पार्टी र जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिको रोहवरमा चामल बितरण गर्ने क्षेत्रीय अध्यक्ष दाहालले बताए।
सोमध्ये तोपगाछी गाउँ कमिटीले २ सय ५३ बोरा चामल संकलन गरेर पठाएको हो । यो मुलुकै सबै भन्दाबढी चामल संकलन गरेर पठाउने गाउँ कमिटी भएको एमालेको दावी छ ।
त्यसैगरी दमक १ को वडा कमिटीले ७२ बोरा, धरमपुर गाउँ कमिटीले ५६ बोरा र दमक ४ को वडा कमिटीले २६ बोरा चामल संकलन गरेका थिए।
एमाले केन्द्रीय कमिटीमार्फत क्षेत्र नम्वर ७ झापाले प्रत्येक पार्टी सदस्यबाट १ सय रुपैयाँको दरले राहत रकम संकलन गरेर २ लाख रुपैयाँ केही साताअघि पठाइएको जिल्ला सदस्य तथा क्षेत्रीय इन्चार्ज होम थापाले बताए। पार्टी केन्द्रीय सदस्य हिक्मत कार्कीले राहत, उद्धार र सहयोगमा एमालेले अहम भूमिका खेलेको बताउँदै पुननिर्माणका काममा सहयोग गर्न आग्रह गरे।
असारको अन्ततिर पुनः एक ट्रक चामल पठाउने एमालले जनाएको छ ।




Comments