गिरिजाप्रसाद कोइराला स्मृति भवन निर्माणका लागि दलहरूबीच सहमति



२४ जेठ, बिर्तामोड।
१६ करोड रुपैयाँको लागतमा झापामा बन्न लागेको गिरिजाप्रसाद कोइराला स्मृति भवन निर्माणबारे उत्पन्न विवाद अन्त्य गर्दै जिल्लाका दलहरुबीच साझा सहमति कायम भएको छ ।
यसअघि दलहरुबीचको असमझदारीका कारण विवाद उत्कर्षमा पुगेर उक्त योजनाको बजेट फ्रीज हुने अवस्था सृजना भएको थियो ।
झापाका राजनीतिक दलहरुबीच संवाद समूहको सचिवालयको संयोजनमा आज आइतवार भएको छलफलमा उक्त भवन निर्माणबारे चार बुँदे सहमति भएको छ । दलहरुबीच गिरिजाप्रसाद कोइराला स्मृति भवन भद्रपुरमै बनाउने र बजेट फ्रीज हुन नदिई यही आर्थिक बर्षबाट काम शुरु गर्ने/गराउने सहमति भएको छ । त्यस्तै उक्त भवन निर्माणको लागि अहिले तोकिएको जग्गाको विकल्पमा त्योभन्दा उपयुक्त जग्गा खोजी गर्न दलहरुको सहकार्य र सहमतिमा जिल्ला विकास समितिमार्फ तत्काल कार्य अघि बढाउनेसमेत सहमति भएको छ ।





विकास निर्माण लगायत जिल्लाका साझा सवालमा दलीय सहकार्य, सहमति र एकता तथा साझा धारणाका साथ अग्रसर हुने संस्कारलाई अझ दरिलो बनाएर अघि बढ्ने झापाका दलहरुले साझा प्रतिबद्धता व्यक्त गरेका छन् । उक्त भवनको योजना प्रस्ताव तथा निर्माण प्रक्रियाको विषयमा स्थानीय विकास अधिकारीबाट भएका काम, कार्वाहीको समीक्षासहित आगामी दिनमा जिविसमार्फत हुने हरेक विकास निर्माणमा दलीय सहमति लिएर मात्र अघि बढ्नेतर्फ सचेत गराउने समेत सहमति भएको छ ।
सहमतिमा नेपाली कांग्रेसका उपसभापति देउमान थेवे, नेकपा एमालेका अध्यक्ष चिन्तन पाठक, स्थानीय शान्ति समितिका संयोजक तथा सद्भावना पार्टीका अध्यक्ष सूर्यनारायण गणेश, एकीकृत नेकपा माओवादीका ज्योतिसिंह दर्लामी तथा सीपी कडरिया, नेकपा-माओवादीका सेक्रेटरी रोशन कन्दङवा, नेकपा मालेका सचिव नवराज खरेल, तमलोपाका अध्यक्ष त्रिनारायण राजवंशी, संघीय समाजवादीका इञ्चार्ज धनप्रसाद गुरुङ, संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष धनबहादुर पन्धाङ्क सुब्बाले हस्ताक्षर गरेको संवाद समूह सचिवालय संयोजक अधिवक्ता दीपेन्द्र भट्टराईले जानकारी दिए ।


यसअघि उक्त भवन चन्द्रगढीस्थित विद्युत प्राधिकरण र मेची रंगशालाको बीचमा रहेको खाली जग्गामा निर्माण गर्ने तयारी भएपछि दलहरुबीच असमझदारी उत्पन्न भएको थियो । भवनका लागि साढे ८ कठ्ठा जग्गा आवश्यक पर्ने र १० करोड रुपैयाँ बजेट निकासा समेत भइसकेको बुझिएको छ ।
उक्त सहमतिसँगै र्सवदलीय कार्यदल बनाई जग्गा खोजी गरी भवन निर्माण कार्य अघि बढाइने बताइएको छ ।




Comments