डेंगुवाट सातजना संक्रमित




२४ जेठ, दमक।
झापामा यस वर्ष पनि डेंगुको जोखिम बढ्न सक्ने देखिएको छ । बर्षायाम शुरु भएसँगै जिल्लामा डेंगु रोगको संक्रमण बढ्न सक्ने देखिएको छ ।
जिल्ला जनस्वाथ्य कार्यालय झापाले डेंगु जातको भाइरस सार्ने एडिज जातको लामखुट्टे मनसुनपछि बढि सक्रिय हुने भएकाले जिल्लाभित्र यसको संक्रमण देखिन थालेको जनाएको छ। चालु आर्थिक वर्षमा हालसम्म ७ जनामा डेंगुको संक्रमण देखिएको कार्यालयले जनाएको छ ।


वर्षाको समयमा लामो समय समम खुल्ला ठाउँमा जमेको पानीमा यो जातको लामखुट्टेले लार्भा बनाउने भएकाले यसको संक्रमण बढ्ने गरेको कार्यालयका भेट्रोन कन्ट्रोल अधिकृत बेदप्रसाद घिमिरेले जानकारी दिए।
फोहोर स्थान र लामो समयसम्म जमेको पानी यो लामखुट्टेको उत्तम वासस्थान र लार्भा उत्पादनको उपयुक्त स्थान हुने उनले वताए। बर्षायामभरी यसको संक्रमण उच्च रहने उनको भनाई छ ।
गत दुई वर्षको अवधिमा झापामा दुई सय ८१ जना डेंगुबाट संक्रमित भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष २०६९/७० मा मात्र ७८ जना र गएको आ.व. २०७०/७१ मा २ सय ३ जनामा डेंगु रोग देखिएको थियो । मुख्य सिजनमा यसको संक्रमण अझ बढ्न सक्ने भएकाले त्यसबारे सचेत रहनु पर्ने जिल्ला जनस्वास्थ्य प्रशासक चन्द्रदेव मेहताले बताए।



Comments