उच्च जोखिममा छन् झापाका दुई कार्यालयका भवन




२१ जेठ, दमक।
भवन विभागले झापाका दुईवटा सरकारी कार्यालय जोखिममा रहेको औंल्याएको छ । विभागले ती कार्यालयबाट नियमित कामकाज नगर्न सचेत गराएको छ ।
भुकम्पले नराम्रोसँग चर्किएका खजुरगाछी कार्यालय भवन र भद्रपुरस्थित जिल्ला हुलाक कार्यालयको भवन बसेर काम गर्न अयोग्य भएको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामले जनाएको छ । ती भवनहरु करिब तीन दशकअघि बिना पिलर बनाइएको डिभिजनका इन्जिनियर चन्द्र चापागाईंले बताए। भुकम्पीय सुरक्षाका दृष्टिले ती कार्यालय पूर्ण रुपमा असुरक्षित भएकाले सेवा क्षेत्र अन्यत्र सार्नु पर्ने उनको सुझाव छ।


यी कार्यालयवाहेक झापाको गौरीगञ्ज माध्यमिक विद्यालय, शनिश्चरे उच्च मावि, काँकडभिट्टास्थित लोकतन्त्र पोष्ट दैनिकको भाडाको कार्यालय बसेको घर, भद्रपुरमै रहेको मेची अञ्चल अस्पताल लगायतका केही भवनहरु मर्मत नगरी बस्न नहुने अवस्थामा रहेको इन्जिनियर चापागाईंले बताए। जिल्ला भित्रका सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको भुकम्प प्रभावित क्षेत्रका भवनहरुको हालै अनुगमनबाट त्यस्तो थाहा भएको इन्जिनियर चापागाईले बताए।
बिना पिलरका परम्परागत तरिकाले बनाइएका धेरैजसो सरकारी कार्यालय भवनहरु जोखिममा रहेको डिभिजनले जनाएको छ ।



Comments