झापालाई बालमैत्री जिल्ला बनाउन पत्रकार ढकालको संयोजकत्वमा युवा सञ्चार अभियान




१० असार, विर्तामोड।
झापा जिल्लालाई बालमैत्री जिल्ला बनाउने उद्देश्यले जिल्लामा नै पहिलोपटक युवा सञ्चारकर्मीहरु एकजुट भएका छन् ।
झापाको मेचीनगर-१२ इटाभट्टामा युवा सञ्चारकर्मीहरुको एक भेलाले पत्रकार नरेन्द्र ढकालको संयोजकत्वमा बालबालिकाको हितको लागि युवा सञ्चार अभियान नाम संस्थाको गठन गरेको छ । आज (बिहिबार) भएको भेलाले समितिको सहसंयोजकमा खगेन्द्र घिमिरे, सचिवमा शिशिर चम्लागाईं, सह सचिवमा रुपेश अधिकारी र कोषध्यक्षमा प्रकाश पौडेललाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा दिपेन लावती, नारायण अर्याल, झुलन रेग्मी र सञ्जिता पोख्रेल रहेका छन्।




नवगठित समितिले असार महिनाभित्र आफ्नो संस्थालाई जिल्ला प्रशासनमार्फत दर्ता गरेर वैधानिकता प्रदान गर्दै विभिन्न कार्यक्रम सञ्चालन गर्ने कार्यलाई अगाडी बढाउन सुरु गर्ने निर्णयसमेत भएको बताइएको छ ।
बालबालिकाका क्षेत्रमा जिल्लामा रहेका सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गर्दै कार्यक्रमहरु अगाडी बढाउने र बालश्रम अन्त्य गर्दै जिल्लालाई बालमैत्री जिल्ला बनाउने उद्देश्यका साथ संस्थाको स्थापना गरेर अगाडी बढेको संयोजक ढकालको भनाई छ ।

यसैबीच अभियानमा आवद्ध पत्रकारहरुले बालबालिकाको क्षेत्रमा कलम अगाडी बढाउँदै उनीहरुको विषयमा कार्यक्रम तथा लेख, समाचार लगायतका कार्यमा एकजुट भएर अगाडी बढ्ने प्रतिवद्धता जाहेर गरेको जनाइएको छ ।




Comments