झापाका सुरक्षा प्रमुखहरूद्वारा सम्भावित द्वन्द्वहरुको पहिचान र विश्लेषण



१३ असार, चन्द्रगढी।
सुरक्षा निकायका प्रमुखहरुले झापामा हाल भइरहेका र सम्भावित द्वन्द्वहरुको पहिचान र विश्लेषण गरेका छन् । आज आइतबार विहान जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा जिल्लाका द्वन्द्वको पहिचान र विश्लेषण गरिएको हो ।
द्वन्द्व पहिचान तथा विश्लेषण समिति झापाका संयोजक प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलको अध्यक्षतामा भएको छलफलमा सुरक्षा निकायका प्रमुखहरुले जिल्लाका द्वन्द्वबारे विभागीय दृष्टिकोण र समाधानका लागि सुझावहरु प्रस्तुत गरेका थिए ।
छलफलमा सुरक्षा निकायका प्रमुखहरुले झापामा भइरहेका र सम्भावित द्वन्द्वको बेलैमा पहिचान गरी संवादको माध्यमबाट समाधान गरेर जिल्लामा शान्ति स्थापना गर्न ठूलो टेवा पुगेको निष्कर्ष निकालेका छन् ।


प्रमुख जिल्ला अधिकारी पौडेलले द्वन्द्वको पहिचान र विश्लेषण गर्दै संवादको माध्यमबाट अघि बढ्ने हो भने जस्तोसुकै समस्या पनि हल गर्न सकिने र जिल्लामा शान्ति स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिने बताए ।
छलफलमा राष्ट्रिय राजनीति र त्यसबाट उत्पन्न घटनाक्रम, संविधान निर्माण र विवादित विषयले स्थानीय स्तरमा पार्न सक्ने असर, गिरिजाप्रसाद कोइराला स्मृति भवन र प्रतिष्ठान निर्माणको विषय, तीन महिनाका लागि खोलाबाट गिटी बालुवा, ढुंगा निकाल्न रोक लगाएको र त्यसपछिको परिस्थिति, बिर्तामोड, शनिअर्जुन र कनकाई नगरपालिकाको फोहोर व्यवस्थापनको समस्या, रासायनिक मलको सहज आपूर्ति तथा शिक्षा र अन्य विविध विषयका समस्याबारेमा विभागीय दृष्टिकोण राखिएको थियो ।
छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापा, कालीबहादुर गण चारआलीका प्रमुख सेनानी खेमनारायण पौडेल, सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रेमराज पोखरेल, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कृष्ण खनाल, कालीबहादुर गणका सहसेनानी नवीन श्रेष्ठ, शिक्षा कार्यालका उपसचिव उद्धव विष्ट, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक टंकप्रसाद भट्टराईले भइरहेका र सम्भावित द्वन्द्वबारे विभिन्न दृष्टिकोण राखेका थिए ।
संवाद समूहको सचिवालयको संयोजनमा भएको छलफलको सहजीकरण सचिवालयका संयोजक अधिवक्ता दिपेन्द्र भट्टराई र अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।





Comments