बिर्तामोडमा ओपन हेण्ड्स नेपाल, दशैंअघि नै शववाहन सञ्चालन हुने




७ असार, बिर्तामोड।
झापाको बिर्तामोडमा सामाजिक र मानवीय सेवामा क्रियाशील रहने उद्देश्यको साथ 'ओपन हेण्ड्स नेपाल' को स्थापना भएको छ ।
'सहयोगका लागि एक साथ खुल्ला हात' भन्ने नारा तय गरी अग्रसर ओपन हेण्ड्स नेपालले आज सोमबार बिर्तामोडमा पत्रकार भेटघाटको आयोजना गरी आफ्नो उद्देश्य तथा कार्यक्रम सार्वजनिक गरेको छ।
संस्थाले मेची अञ्चलमै पहिलोपटक आगामी दशैसम्ममा शववाहन खरिद गरी सञ्चालन गर्ने संस्थाका अध्यक्ष दिवाकरलाल चौधरीले जानकारी दिए । उक्त कार्यको लागि डेढ लाख रुपैयाँ संकलन भइसकेको र दाता तथा संघ संस्थाबाट आवश्यक रकम जुटाइने संस्थाका महासचिव भीष्मराज पौडेलले बताए ।
सवारीका अन्य साधनले शव बोक्न नमान्ने र त्यही बहानामा चर्को भाडा असुल्दै आएकाले सर्वसाधारणको सुविधालाई ध्यानमा राखी शववहान खरिद र सञ्चालनलाई संस्थाले पहिलो प्राथमिकता दिएको बताइएको छ ।




त्यस्तै स्थानीय निकायसँगको सहकार्यमा नगर क्षेत्रको फोहोर व्यवस्थापनका लागि डम्पिङ साइटको साथै रिसाइक्लिङ प्लाण्ट स्थापना गरी फोहोरबाट मोहोर बनाउने कार्यक्रम सञ्चालन गर्ने पनि संस्थाले योजना बनाएको बताइएको छ । अध्यक्ष चौधरीको अध्यक्षतामा भएको पत्रकार भेटघाटमा सल्लाहकार संयोजक अग्रज पत्रकार मदन ढकाल, संस्थाका प्रथम उपाध्यक्ष कुशल खतिवडा, उपाध्यक्ष खेमप्रसाद आचार्य (कुशल), महासचिव पौडेल लगायतले संस्थाको बारेमा चर्चा गर्दै पत्रकारका जिज्ञासाका जवाफ दिएका थिए ।
संस्थाले युवा सहभागिताका साथ अन्य संघ संस्था र सरोकारवालासँग सहकार्य गरी समाजमा रचनात्मक कार्य सञ्चालन गर्ने र सामाजिक क्षेत्रमा युवाको पहुँच बढाउन नेतृत्व र क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने बताइएको छ । संस्थाले हरितनगरी निर्माण, ट्राफिक सचेतना, भुस्याहा कुकुर तथा छाडा चौपाया व्यवस्थापन गर्ने, चेलीबेटी बेचविखन तथा महिला हिंसाविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्ने समेत योजना बनाएको छ । त्यसैगरी लागू पदार्थबाट युवालाई टाढै राख्न विभिन्न कार्यक्रम सञ्चालन गर्नुका साथै शिक्षा स्वास्थ्य खेलकुदका कार्यक्रम सञ्चालन गर्ने र गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृतिसमेत प्रदान गर्दै जाने बताइएको छ ।

संस्थाले झापामा हाल रगतको अभाव भएको अवस्थालाई ध्यानमा राखी यही असार ११ गते शुक्रबार बिर्तामोडमा रक्तदान कार्यक्रम तय गरेको छ ।
असार ३ गते जिल्ला प्रशासन कार्यालयमा विधिवत दर्ता भएको उक्त संस्थाले आफ्नो उद्देश्य अनुसारको कामलाई तीब्रता दिएको छ । संस्थाको अध्यक्षमा दिवाकरलाल चौधरी रहेका छन् भने उपाध्यक्ष कुशल खतिवडा, अजयकुमार देव र खेमप्रसाद आचार्य रहेका छन् । महासचिवमा भीष्मराज पौडेल, सचिवमा सरोज श्रेष्ठ कोषध्यक्षमा अभिषेक आचार्य रहेका छन् । सदस्यहरुमा कमल खरेल, उमानाथ पाठक, नवीन रिमाल, निश्चल पाण्डे, प्रमेश योञ्जन, प्रनिश पौडेल, विशाल विमली, लीलबहादुर शंकर, अञ्जु लामिछाने, कञ्चना बराल, कविता चापागाईं, टीका माया लामिछाने, एलिशा प्रसाईं र जस्मीन लिम्बू रहेका छन् ।






Comments