सहायक क्याम्पस प्रमुखको पदावधि थपिने, प्राध्यापकहरु आन्दोलित



१० असार, दमक।
दमक बहुमुखी क्याम्पसले पदावधि सकिएका तीनजना सहायक क्याम्पस प्रमुखको पदावधि थप गर्ने निर्णय गरेको छ ।
यही असार ४ गते क्याम्पस प्रमुख सन्तकुमार भगतले तीनैजना सहायक क्याम्पस प्रमुखको पदावधि अर्को व्यवस्था नहुन्जेल सम्मका लागि थप गर्ने सिफारिस गरेका हुन् । मानविकी, व्यवस्थापन तथा विज्ञान संकाय अन्तर्गतका तीनैजना सहायक क्याम्पस प्रमुखको पदावधि थप गर्ने निर्णयका साथ सञ्चालक समितिसँग सिफारिस गर्न पत्राचार गरिएको जनाइएको छ ।
मानविकी तथा शिक्षा तर्फका यज्ञराज गिरीको गत मंसीर ६, विज्ञानका रत्नबहादुर थापाको गत फागुन १२ र व्यवस्थापन तर्फका सहायक प्रमुख राधिका सुवेदीको गत जेठ ४ गते नै पदावधि सकिएको थियो ।


यसैवीच, क्याम्पसका प्रजातन्त्रवादी प्राध्यापकहरु भने सहायक क्याम्पस प्रमुख पद अविलम्ब तोक्न लगायतका विभिन्न पेशागत माग राख्दै एक महिनादेखि आन्दोलित हुँदै आएका छन् । उनीहरुले आफ्ना माग पूरा गराउन क्याम्पस प्रमुखको कार्यकक्षमा लगाएको तालाबन्दी अझै खुल्न सकेको छैन् । प्रजातन्त्रवादी प्राध्यापक संगठनका अध्यक्ष डाक्टर नेत्रबहादुर बुढाथोकीले बृद्धि भएको सेवा, सुविधा अविलम्ब कार्यान्वयन गर्न तथा क्याम्पसका विभिन्न उपसमितिहरुमा प्रजातन्त्रवादी प्राध्यापकहरुलाई समेत प्रतिनिधित्व गर्नेतर्फ चासो नदिए क्याम्पस खुलेलगत्तै थप आन्दोलन चर्काउने चेतावनी दिए । उनीहरूले क्याम्पस प्रमुखको नियुक्ती गर्दा बरिष्ठता र संकाय अनुकुल हुनुपर्ने माग राख्दै आएका छन् ।


Comments