कञ्चनजंघा सहकारीद्वारा दुई संस्थालाई सहयोग




२९ जेठ, दमक।
झापाको दमक-१३ स्थित कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाले नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकद्वारा सञ्चालित स्थानीय सर्पदंश उपचार केन्द्रलाई तीन थान बेड उपलब्ध गराएको छ । संस्थाको १५ औं वार्षिकोत्सवका अवसर पारेर आज संस्थाले रेडक्रसलाई ती बेडहरू हस्तान्तरण गरेको हो। संस्थाका अध्यक्ष मणिकुमार भण्डारीले संस्थाको सामाजिक सेवा कार्यक्रममार्फत ती सामाग्रीहरु प्रदान गरिएको बताए । उनले सो सामाग्री उपशाखा सभापति लीला गुरागाईलाई हस्तान्तरण गरेका थिए ।
यसैगरी, सोही अवसरमा संस्थाले ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानलाई अक्षय कोषका निम्ति ५० हजार रूपैयाँ नगद प्रदान गरेको थियो । गत बर्षदेखि संस्थाले प्रतिष्ठानलाई बार्षिक रुपमा ५० हजार रुपैयाँ प्रदान गर्दै आएको छ । आगामी दश वर्षभित्रमा प्रतिष्ठानमा ५ लाख रुपैयाँको अक्षय कोष स्थापना गरिने अध्यक्ष भण्डारीले बताए ।




संस्थाले बार्षिकोत्सवका अवसरमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ५८ पिन्ट रगत संकलन भएको छ । रक्तदानमा पूर्वकै सवैभन्दा बढी रगतदान गर्ने दमकका राजकुमार श्रेष्ठसहित संस्थाका उपाध्यक्ष जीवन सापकोटा, व्यवस्थापक निलकण्ठ निरौला लगायतकाले रगतदान गरेका थिए । रक्तदाता श्रेष्ठले योसँगै ९४ पटक रगतदान गरेका हुन् । रगतदान रेडक्रसको रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।
बार्षिकोत्सव कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष होमबहादुर थापा, ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल, दमकका अध्यक्ष सीताराम खतिवडा, रेडक्रसका सभापति लीला गुरागाई लगायतले बोलेका थिए ।
तस्वीर - विरामी वेड हस्तान्तरण गर्दै संस्थाका सञ्चालक समितिका पदाधिकारीहरु (विष्णु सुब्बा)



Comments