हिन्दुवादीहरुको भारतमा बैठक सम्पन्न, बिभिन्न निर्णय सार्वजनिक




२८ जेठ, उर्लाबारी।
नेपालका ठुला दलहरुले हिन्दु राष्ट्र घोषणाको मुद्दालाई छलफलको विषय नै नबनाई आफ्नो संगठनलाई अपमुल्याङ्कन गरेको भन्दै हिन्दुवादी संगठनहरुले त्यसको बिरोधमा भारतको गोरखपुरमा बैठक सम्पन्न गरेका छन् ।

प्रमुख दलहरुले देशलाई धर्मनिरपेक्षताको दलदलमा फसाउन खोजेको र विश्वमा एकमात्र रहेको हिन्दुराष्ट्रलाई शक्ति र एकल स्वार्थको भरमा समाप्त पार्ने खेल खेलिरहेकोले त्यसको सशक्त प्रतिकारका लागि नेपाल शिव सेनाका संयोजक माधवप्रसाद भण्डारीको नेतृत्वमा हिन्दुमोर्चा गठन गरेको छ ।




मोर्चाको सदस्यहरुमा नेपाल डिफेन्स आर्मीका उपाध्यक्ष अभियान सिंह, हिन्दु सेना नेपालका संयोजक केशव केसी, श्रीराम सन्त समाजका अध्यक्ष कपिल बाबा, हिन्दुवाहिनी नेपाल संयोजक रणध्वोज कुँवर र रणवीर सेनाका उपाध्यक्ष चक्रधरसिंह लगायत बिभिन्न हिन्दुवादी संस्थाका प्रतिनिधीहरु रहेको मोर्चाले विज्ञप्तिमार्फत जनाएको छ ।
उक्त भेलामा भारत साथै बंगलादेशका हिन्दुवादी संघसंस्थाका प्रतिनिधीहरुको समेत बाक्लो उपस्थिती रहेको बताइएको छ । बैठकपछि मोर्चाले आफ्नो निर्णयहरु विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ ।


'देशले बैशाख १२ को भुकम्पबाट ठुलो क्षति ब्याहोरिरहेको अवस्थामा तमाम नेपाली आमाबुवा तथा दाजुभाई दिदी बहिनीहरुको गाँस र बास खोसिएको छ', मोर्चाको विज्ञप्तिमा उल्लेख छ, 'गाँस बासको उचित व्यवस्थापन गर्नुको साटो आफुसँग बाँकी रहेको धर्म समेत लुट्नेतर्फ ठुला राजनीतिक पाटीहरु तल्लिन छन् । त्यसका लागि मोर्चा कडारुपले प्रतिकारमा उत्रनेछ ।'
२२ र २५ प्रतिशत जातले प्रभुत्व जमाएको क्षेत्रलाई एकल जातिय राज्य दिनुपर्छ भन्ने माग राख्दै आन्दोलन गरिआएका राजनीतिक पार्टीका नेताहरुले ८३ प्रतिशत हिन्दुहरुको बाहुल्य भएको सिंगो देश नेपाललाई किन हिन्दुअधिराज्य नेपालको नामाकरण गर्न सकिरहेका छैनन् ? यसमा क-कस्को के-के स्वार्थ छ ?' मोर्चाको चारदलिय पार्टीलाई प्रश्न छ ।
हिन्दुराष्ट्र नेपाल दिलाउँछु भन्दै भोट माग्नेहरुलाई सदन छोडी सडकमा सँगै सहयात्रा गर्न मोर्चाको आग्रह छ । अन्यथा त्यस्ता पार्टी तथा संगठनहरुलाई मोर्चाले कारवाही गर्ने विज्ञप्तीमार्फत चेतावनी दिइएकको छ।




मोर्चाले २०७२ बैशाख १२ को भुइँचालोमा गाउँ गाउँमा क्षतिग्रस्त मठमन्दिर, गुम्बालगायत मस्जिदसमेत ६ महिनाभित्रमा पुनर्निर्माण गर्ने संकल्प गरी हिन्दु सेनाको संयोजकत्वमा ३ सदस्यीय पुनर्निर्माण समिति गठन गरेको छ । यसका साथै भुइँचालोमा दिवंगत भएकाहरुको आत्माको चिरशान्तिको लागि कामना गर्दै संकटको घडीमा अहोरात्र खटिने सुरक्षाकर्मी, सञ्चारकर्मी, देशी विदेशी संघ-संस्थाहरु लगायतलाई आउँदो महाशिवरात्रि अवसर पारेर विशेष सम्मान गर्ने तयारीसमेत रहेको जनाइएको छ ।
मोर्चाले हिन्दुराष्ट्रको अभियानमा केहि वर्षअघि बिरगंजमा मारिएका काशी तिवारीको परिवारलाई वार्षिक ५ लाख रूपैयाँ प्रदान गर्ने र काशी तिवारीलाई नेपालको पहिलो हिन्दु सहिदको रुपमा सम्मान गर्ने घोषणा गर्दै हिन्दुराष्ट्रको स्थापनार्थ कार्यक्रम गर्ने क्रममा पक्राउ तथा बेपत्ता पारिएकालाई तत्काल रिहाई तथा सार्वजनिक गर्न समेत सरकारलाई अनुरोध गरेको छ ।
उसले हिन्दु राष्ट्रको सुनिश्चितता नभएसम्म नेपाल सरकारबाट गरिने संविधान निर्माणसम्बन्धी सम्पूर्ण कार्यक्रमहरुको कडा बिरोधमा उत्रने समेत जनाएको छ ।

प्रेस विज्ञप्ति जस्ताको तस्तै







Comments