रहेनन् पूर्वका चर्चित नेता लावती



२७ जेठ, काठमाडौं।
पूर्व मन्त्री तथा राप्रपा नेपालका नेता पद्मसुन्दर लावतीको ७६ वर्षको उमेरमा निधन भएको छ। राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान ५ बजे उनको निधन भएको हो।
मृगौलासम्बन्धी समस्याका कारण गत शनिबार नर्भिक अस्पतालमा भर्ना गरिएका लावतीको स्वास्थ जटिल वन्दै गएपछि आज विहान सवेरैबाट परिवारको अनुरोधमा उनलाई भेन्टिलेटरमा राखिएको उपचारमा संलग्न चिकित्सकले बताए। लावती मृगौलासम्बन्धी रोगका साथै रक्त अल्पता र श्वासप्रश्वास लगायतका समस्यावाट ग्रसित थिए ।




पञ्चायतदेखि प्रजातन्त्र पुनर्स्थापनापश्चात समेत पटक पटक गृह, प्रशासन र कृषिसहित विभिन्न मन्त्रालय सम्हालेका लावतीको जन्म ७ साउन १९९६ सालमा भएको थियो। २०१४ सालमा विद्यार्थी अवस्थावाटै राजनीतिमा सक्रिय लावती २०१९ सालमा युवक संगठन मेची अञ्चल सभापति, २०२१ सालमा पाँचथरको यासोक गाँउ पञ्चायतको प्रधानपञ्च, २०२४ सालमा पाँचथर जिल्ला पञ्चायतको सदस्य, २०२९ सालमा उद्योग वाणिज्य राज्यमन्त्री हुँदै, स्वास्थ, खाद्य र गृह मन्त्रीका समेत भएका थिए ।
२०४६ सालको परिवर्तनसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेका लावती पछिल्लो पटक राप्रपा नेपालको सह अध्यक्ष भएका थिए । तर, केही समयअघि मात्रै कमल थापासँग केन्द्रीय अध्यक्षमा पराजित भएपछि लावतीले पार्टी विभाजन गर्दै आफ्नै संयोजकत्वमा राप्रपा नेपाल सुदृढीकरण अभियान शुरु गरेका थिए ।

परिवार सदस्यले अमेरिका र क्यानडामा रहेका छोराछोरी आएपछि मात्र अन्त्येष्टि गर्ने बताएका छन्। लावतीका दुई छोरी र तीन छोरा छन्। उनका एक छोरा अमेरिका र अर्को छोरा क्यानडामा छन्। अर्का एक छोरा सगुन लावती राप्रपा नेपाल असन्तुष्ट पक्ष सुदृढिकरण अभियानकै प्रवक्ता हुन्।


Comments