फोहोर उठाउन शुल्क लिने निर्णयको चौतर्फि विरोध



१३ जेठ, दमक।
दमक नगरपालिकाले दमकमा रहेका ब्यवसायी तथा स्थानीय घरवालासँग फोहर उठाएवापत शुल्क असुल्ने भनी गरेको निर्णयबिरुद्ध चौतर्फि बिरोध भएको छ । नगरपालिकाले दमकबाट उत्पादित फोहर मैलाको ब्यवस्थापन निजी कम्पनी पाथवे नेपाललाई दिएपछि स्थानीयबाट शुल्क उठाउने निर्णय गरेको थियो । सरोकारवालासँग कुनै छलफल नै नगरी उक्त निर्णय गरिएको भन्दै नेपाल घरबेटी संघ झापाले बिरोध जनाएको हो । जिल्ला अध्यक्ष मेहेरमान लिङदेनले एक बिज्ञप्ति प्रकाशित गर्दै नगरबासी र उद्योगी ब्यवसायीको ढाड सेक्नेगरी शुल्क लिने निर्णय नगरवासीलाई अमान्य भएको बताएका छन् ।




'एकिकृत सम्पत्ति कर सबै नगरबासीले तिर्दै आएको सर्वबिदितै छ, तसर्थ शुल्क लिने निर्णय फिर्ता लिन नेपाल घरबेटी संघ झापा अनुरोध गर्दछ', बिज्ञप्तिमा भनिएको छ । यदि शुल्क लिने निर्णय तत्काल फिर्ता नलिएमा संघले सशक्त आन्दोलन गर्ने पनि बिज्ञप्तिमा जनाइएको छ । यसअघि सरोकारवालहरुसँग कुनै छलफल नै नगरी उक्त निर्णय गरिएको भन्दै उद्योग बाणिज्य संघ दमकले पनि निर्णयको बिरोध गरिसकेको छ ।



Comments