२९ वैशाख, उर्लाबारी।
मोरङको उर्लाबारीमा सञ्चालित मदन भण्डारी स्मृति अन्तरराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करणको आजको खेलमा आयोजकले विजय हासिल गरी आफुलाई सेमीफाइनमा उतारेको छ ।
तेस्रो दिनको सो खेलमा आफ्नो टिमका तर्फबाट सुनिल खड्काको ह्याट्रिकमा आयोजक मदन भण्डारी स्मृति प्रतिष्ठानले पाथीभरा सशस्त्र गण झापाविरूद्ध ४-१ को गर्विलो विजय हासिल गरेको हो ।
पहिलो हाफको ३१ औं मिनटमा आयोजकका सुनिल खड्काले गोलको खाता खोलेका थिए। तीव्र गतिमा खेलेको भएपनि सशस्त्रले सो गोलपछि बढेको दवाव झेल्न सकेन । ३४ औं मिनटमा पुनः आयोजकका कप्तान रुपेश तामाङले अर्को गोल थपेर पहिलो हाफमा आफ्नो टिमलाई २-० को अग्रता दिलाए ।
आफ्नो डि बक्समा आयोजकले फल गरेको मौकामा दोस्रो हाफको ९ औं मिनटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै सशस्त्रका हरि कार्कीले गोलको खाता खोल्न सफल भए ।
त्यसपछि केही उत्साहित बनेको सशस्त्रको विरुद्ध १६ औं मिनटमा सुनिल खड्काले अर्को गोल थपेर आफ्नो टिमलाई अग्रता दिलाए। २८ औं मिनटमा पुनः सुनिलले नै गोल गरेर आफ्नो ह्याट्रिक पुरा गरे। सुनिल नै सो खेलको म्यान अफ दी म्याचबाट पुरस्कृत भएका छन् ।
आधा दर्जन राम्रा अवसर पाए पनि सशस्त्रले अवसरको सदुपयोग गर्न चुक्यो र पराजित हुनु पर्यो ।
भोलिको अन्तिम क्वार्टर फाइनल खेल एन्फा कप विजेता झापा ११ र भारतको दार्जीलिङ ११ बीच हुनेछ ।
Comments
Post a Comment