२७ वटा टहरा बनाएर फर्कियो क्रान्तिकारीको टोली



२ जेठ, दमक।
अखिल क्रान्तीकारी झापाको टोलीले सिन्धुपाल्चोकको भुकम्प प्रभावित क्षेत्रमा २७ वटा अस्थायी टहरा निर्माण गरेर फर्किएको छ ।
सो संगठनले आज झापाको दमकमा पत्रकार भेटघाट गरी प्रभावित क्षेत्र सदरमुकाम चौताराबाट तीन घण्टाको पैदल दुरीमा पर्ने सिपापोखरे गाविसको ज्यामिरे माने, अर्चले र आचार्य बस्तीमा ती टहरा बनाएर फर्किएको जनाएको छ । संगठनका जिल्ला अध्यक्ष रवि बस्नेतले झापाबाट पिलास, तार र काँटी बोकेर गई ती ठाउँमा उपलब्ध, बाँस, काठ आदि प्रयोग गरेर टहरा बनाइएको बताए।


आफ्नो नेतृत्वको १७ सदस्यीय टोलीले त्यहाँ पुरिएको करीब २ सय बोरा मकै र कोदो बाहिर निकालेको पनि बस्नेतले बताए । टोलीले झापाबाट लगेको प्राथमिक उपचारसम्बन्धी केही औषधी र स्वास्थ्य सामग्रीहरु पनि त्यहाँ वितरण गरिएको उनले जानकारी दिए । उनले प्रभावित क्षेत्रका सर्वसाधारण अझै आधारभूत राहतको अभावमा छटपटाइरहेका र युवा वर्ग गाउँमा नभएकाले झनै समस्या खड्किएको पनि बताए ।
पत्रकार भेटघाटमा क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य महेन्द्र भट्टराईले झापाका ९० वटा सामुदायिक विद्यालयका भवनमा भुकम्पबाट असर परेको जनाउँदै संगठनले गरेको अनुगमनका क्रममा अहिलेसम्म करीब एक दर्जन विद्यालयमा तत्काल पठनपाठन सञ्चालन गर्न सहज नहुने किसिमको भएकाले कक्षा सञ्चालन गर्नु नहुने बताए । क्षति भएका विद्यालयको संरचना प्राविधिकहरुको टोलीबाट निरीक्षण गराई यथार्थ बुझेर पठनपाठनका लागि बैकल्पीक बन्दोबस्त मिलाउनु पर्ने संगठनको धारणा रहेको उनले बताए ।




Comments