भूकम्प पिडीतका घर बनाउन हिँडे झापाली युवा




९ जेठ, विर्तामोड।
नेकपा एमाले केन्द्रीय कमिटीको निर्देशानुसार हालैको भूकम्पबाट अति प्रभावित जिल्लामा उद्धार, राहत र पुननिर्माणका लागि झापाबाट एक सयजनाको युवा टोलीलाई पार्टीले आज विदाइ गरेको छ ।
पार्टीले गठन गरेको 'भूकम्प पिडीतहरुका लागि राष्ट्रिय स्वयम् सेवक परिचालन अभियान २०७२' सफल बनाउन बेनु शिवाकोटीको नेतृत्वमा एक सयजनालाई आज औपचारिक विदाइ गरिएको हो ।
पार्टी जिल्ला कार्यालय परिसरमा आयोजित संक्षिप्त कार्यक्रममा अभियानको नेतृत्वकर्ता शिवाकोटीसहित युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य राजु कार्की, जिल्ला अध्यक्ष डम्बर गिरी, पार्टी जिल्ला सदस्य टिकाराम मंग्रातीलगायतलाई निर्माण कार्यमा प्रयोग गरिने औजारहरु हस्तान्तरण गरियो । अभियानमा संलग्न सबैलाई पार्टीको लोगोअंकित खादा तथा अविर लगाइदिएर विदाई गर्दै पार्टी नेताहरुले भूकम्प पिडीतको आश्रयस्थल बनाएर आउन शुभकामना दिए ।



पार्टी जिल्ला अध्यक्ष चिन्तन पाठकको अध्यक्षता, केन्द्रीय सदस्य एवम् मेची अञ्चल इन्चार्ज हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न अभियन्ता विदाई कार्यक्रममा पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा सभासद् रविन कोइराललाले संसदले पारित गरेको संकल्प प्रस्तावबारे प्रष्ट्याएका थिए । राष्ट्रिय विपत्तिको समयमा राजनीतिक आस्था विचारलाई केही दिन बिर्सेर राष्ट्र निर्माणमा सबैले जुट्नु पर्ने संकल्प प्रस्तावको पालना हामी सबैले गर्नुपर्ने उनले औंल्याए ।
त्यसैगरी केन्द्रीय सदस्य कार्कीले पार्टीको निर्णय र निर्देशन अनुसार खटाइएको स्थानमा झापाको अभियन्ता टोली भोलिदेखि नै खटिने जानकारी दिए । उनले पीडामा परेका सबै नेपाली जनतालाई सहयोग गर्नु हाम्रो कर्तब्य भएकोले पार्टीले १० हजार स्वयंसेवक दस्ता परिचालन गरेको बताए ।
अभियन्ता विदाई कार्यक्रममा पार्टी नेताहरू नरेश खरेल, मनकुमार गौतम, भाष्कर काफ्ले, जीवनकुमारी घिमिरेलगायतको सहभागिता थियो । सो कार्यक्रमको सञ्चालन पार्टी सचिव मदन अधिकारीले गरेका थिए ।





Comments