झापामा मागको एकचौथाई माछा उत्पादन



विष्णु सुब्बा,
२८ बैशाख, दमक।
झापामा माछाको आन्तरिक उत्पादन न्यून रहेको पाइएको छ । जिल्लाभित्र हुने माछाको उत्पादनले यहाँको एक चौथाई उपभोक्ताको मागलाई मात्र मुश्किलले धान्दै आएको छ ।
अहिले झापाको कूल मागको ७० प्रतिशत माछा भने भारतीय बजारबाट आपूर्ति हुँदै आएको अवस्था छ । मेची भन्सार कार्यालय काँकडभिट्टाका अनुसार जिल्लामा दैनिक सरदर तीन मेट्रिक टन माछा भारतबाट आयात भइरहेको छ ।
जिल्ला कृषि विकास कार्यालय झापाको तथ्याक अनुसार हाल जिल्लामा बार्षिक ३ सय ३ मेट्रिक टन माछा उत्पादन हुने गरेको छ । यो मात्राले यहाँको मागको करिव एक चौथाई मात्र पनि आपूर्ति हुँदैन ।



झापा जिल्लामा गत बर्षबाट मत्स्यविकास कार्यक्रम लागू भएको भएपनि यसबाट खासै सुधार आउन सकेको छैन। सरकारले आन्तरिक उत्पादनलाई बढुवा दिन सो कार्यक्रम लागू गरेपछि गत वर्ष जिल्लामा करिब १५ हेक्टर जमीनमा नयाँ माछा पोखरीहरु निर्माण भएको जिल्ला कृषि विकास कार्यालय मत्स्यविकाश शाखाका प्राविधिक सहायक प्रदिप श्रेष्ठले जानकारी दिए।
गतवर्ष मत्स्य विकास कार्यक्रमअन्तर्गत जिल्ला कृषि विकास कार्यालयको १० लाख अनुदान सहयोगमा १० हेक्टर जमिनमा पोखरी निर्माण गर्ने कार्यक्रम रहेको थियो । तर उत्साही किसानले यो क्षेत्र बढाएर १५ हेक्टर सम्म पुर्‍याएका थिए । प्राविधिक सहायक श्रेष्ठका अनुसार अघिल्लो वर्ष युवा स्वरोजगार कार्यक्रमबाट ८ वटा पोखरी निर्माण तथा पूर्वाधार विकासका लागि युवा कृषकहरुलाई जनही ५० हजार रूपैयाँ अनुदान सहयोग वितरण गरिएको थियो । कार्यालयले चालु आर्थिक वर्षमा पनि यो अनुदान कार्यक्रम राखेको जनाएको छ । तर बजेट भने अघिल्लो वर्षभन्दा आधा घटेकाले ५ हेक्टर क्षेत्रफलमा मात्र यो वर्ष नयाँ पोखरी निर्माण हुने अनुमान कार्यालयको छ । जसअन्तर्गत तीनवटा पोखरी बनिसकेका छन् भने बाँकी २ हेक्टर क्षेत्रफलमा यही जेठ १५ भित्रमा निर्माण सम्पन्न भइसक्ने प्रा.स. श्रेष्ठले जानकारी दिए ।
झापामा नयाँ तथा पूराना गरी लगभग २ सय ५८ हेक्टर जमीनमा माछा पोखरी रहेको र यसमा झण्डै ८ सय ५० परिवार कृषकहरु प्रत्यक्ष रुपमा माछा उत्पादनमा संलग्न भएको जनाइएको छ । यसवर्ष जिल्लामा ८ सय मेट्रिक टनभन्दा बढि नै माछाको उत्पादन बढाउने कार्यालयको लक्ष्य रहेको छ । जिल्लाको आन्तरिक मागलाई मात्र धान्न पनि माछाको उत्पादन ७० प्रतिशत बढाउनु पर्ने देखिएको उनको भनाई छ । झापाका मेचीनगर र केचनालाई माछा उत्पादनका लागि प्रमुख पकेट क्षेत्रका रुपमा अगाडी बढाइएको छ । कमन, शिल्भर, बिगहेड, ग्रासकार, रोहु, नैनि, भ्याकुर र मागुर जातका माछाहरु यहाँका किसानमाझ लोकप्रिय रहेको बताइएको छ।


यसैगरी पाँचगाछी, गौरीगंज, शिवसताक्षी लगायतका क्षेत्रहरुमा पनि नयाँ पोखरीहरु थपिँदै जाने क्रम बढेको छ । जिल्लाभित्र नै सरकारी वा निजि स्तरका भुरा उत्पादन गर्ने ह्याचरी नहुँदा दक्षिण सिमाबर्ती क्षेत्रका किसानहरुले भारतबाट माछाका भुराहरु ल्याउनु परिरहेको छ ।
मत्स्य विकाश केन्द्रहरु फत्तेपुर, लाहान र कृषि विकास केन्द्र तरहराबाट धेरैजसो माछाका भुराहरु आउने गरेको । जिल्लामा निजी स्तरमा विर्तामोड र शनिअर्जुनमा गरी २ वटा माछाका भुरा हुर्काउने नर्सरीहरु भएपनि प्रयाप्त नभएको कृषि विकास कार्यालयले जनाएको छ ।
आउँदो ५ वर्षभित्र जिल्लाको आन्तरिक मागलाई धान्ने गरी माछा उत्पादनमा आत्मनिर्भर बन्ने उद्देश्य कार्यालयको रहेको छ । जिल्लाभित्र रहेका कतिपय प्राकृतिक पोखरीहरुको समेत पूर्वाधार विकाश हुँदै गएकोले अवको केही वर्षमा झापा जिल्लालाई माछा उत्पादनमा आत्मनिर्भर जिल्लाको रुपमा विकास गर्न सकिने सम्भावना धेरै बन्दै गएको कार्यालयले जनाएको छ । हाल झापामा पोखरीहरुमा मात्र माछा उत्पादन हुँदै आएको जनाइएको छ । जिल्लामा प्राकृतिक हिसाबले पनि माछा पालनका लागि केही सम्भावित स्थानहरु रहेका बताइन्छ । तर हालसम्म कुनै पनि खोला वा खोल्सामा प्राकृतिक रुपले माछापालन हुन सकेको छैन । कार्यालयले जिल्लामा माछाको उत्पादनलाई बढावा दिन किसानहरुलाई पोखरी निर्माण गर्न हौसला दिँदै आएको छ । हाल जिल्लाभित्र माछाको माग उच्च हुँदै गएपछि कार्यालयले किसानहरुलाई पोखरीका डिलमा बंगुर, बाख्रा, कुखुरा तथा गाईपालनमा पनि प्रेरित गर्दैआएको छ । सिंचाईको अभाव हुने कतिपय क्षेत्रका पोखरीमा सिँचाईको सुविधा पुर्‍याउन मोटर, तथा बोरिङको लागिसमेत सिफासिस गर्ने गरिएको छ ।



Comments