भूकम्पले दमकका २१ सामुदायिक विद्यालयसहित १६६ भौतिक संरचनामा क्षति



११ जेठ, दमक ।
गएको बैशाख ११ र २९ गतेको भूकम्पका कारण झापाको दमकमा १६६ भौतिक संरचनाहरूमा क्षति पुगेको पाइएको छ ।
भूकम्पपछिका करिव एक महिनासम्म नगरपालिकाले गरेको अनुगमनका क्रममा भूकम्पका कारण उक्त संख्यामा भौतिक संरचनाहरूमा क्षति भएको पाइएको हो ।
भूकम्पबाट क्षति भएको संरचनाहरुको बिवरण दमक नगरपालिकाले जिल्ला दैविक प्रकोप उद्धार समिति झापालाई पठाएको छ । नगरपालिकाले भूकम्पको क्षतिको २९ दिनसम्म अनुगमन गरी आइतबार प्रतिवेदन पठाएको नगरपालिकाका इन्जीनियर तथा भवनसंहिता सम्वन्धी फोकल पर्सन अनन्त सेनेहाङले जानकारी दिए ।




भूकम्पका कारण क्षति भएका १ सय २४ ब्यक्तिका घर, संघ संस्थाहरुको ४२ वटा भवनहरुको अनुगमन गरेको नगरपालिकाले जनाएको छ । ती मध्ये २१ सामुदायिक विद्यालय रहेको नगरपालिकाले जनाएको छ।
नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहाल, इन्जीनियर सेनेहाङ, दमक प्राकृतिक प्रकोप राहत कोषका संयोजक लिला गुरागाई, पत्रकार मञ्च दमकका अध्यक्ष बिष्णु पोखरेल लगायतको टोलीले क्षति भएका भवनको स्थगत अनुगमन गरेको थियो । त्यस क्रममा भवनहरुको पर्खाल, बिम, स्ल्याव चर्किएको भेटिएको छ । गैर संरचनामा देखिएका संरचनाको सुधार गर्नुपर्ने आदि प्रतिवेदनमा उल्लेख छ । निजी विद्यालयहरुमा भर्‍याङ, रेलिङ होचो रहेको, कोठाको ढोका बाहिरबाट राख्नु पर्ने, डेक्सबेञ्च छुट्याउनु पर्ने, प्यासेज बढाउनुपर्ने लगायतका समस्या देखिएका प्रतिवेदनमा उल्लेख छ ।


फोटो – भुकम्पले भत्काएको दमक-१५ स्थित पाणिनी मावि।



Comments