मृतक वालिकाको दाहसंस्कार नगर्ने अडानपछि शिविरका रुख काट्ने सहमति




डिकेश लामा
१० जेठ, बेलडाँगी।
शनिबार राति आएको हावाहुरीका कारण भूटानी शरणार्थी शिविरमा एक जनाको मृत्यु हुनको साथै धेरै शरणार्थीहरु विचल्नीमा परेका छन् ।
वेलडाँगी २ सेक्टर वी १ छाप्रा नं. ९७ की ४ बर्षीया बालिका एलिसा र राईको रुखले किचेर मृत्यु भएको हो । मृतक बालिकाकी आमा मनमायाको भने दाहिने खुट्टा भाँचिएको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ ।
यसैगरी हावाहुरीले शिविरभित्र निर्माण गरिएको बाँसका घरहरुको छाना उडाउनुको साथै १०० भन्दा धेरै घरहरूमा क्षति पुगेको शिविर सचिव सन्चहाङ्ग सुव्बाले जानकारी दिए ।
क्षति भएको घरलाई मर्मतका लागि विश्व लुथरन फेडेरेशनका क्षेत्रीय कार्यक्रम प्रमुख राजेन्द्र कुमार राउतको अगुवाई अवलोकन गरी प्लाष्टिक वितरण कार्य समेत शुरु गरेको बताइएको छ ।



हावाहरीले हंसे दुम्से सामुदायिक बन क्षेत्र र सो आसपासका गाउँका सयौं साँखु, सिसौ, कदम, केरा, बाँस, नरिवल लगायतका रुखहरु भाँचेको हंसे दुम्से सामुदायिक बनले जानकारी दिएको छ । बन क्षेत्रभित्र ५ सय वढी रुखहरु जरासँगै पल्टिएर ढलेको सामुदायिक बनका अध्यक्ष हिमालयप्रसाद दाहालले बताए ।
यसैबीच शिविर व्यवस्थापन समितिले तत्काल शिविर क्षेत्रमा जोखिम बनेर रहेका रुखहरु नहटाए मृतक बालिकाको लाश दाहसंस्कार नगर्ने अडान लिएपछि आइतबार अपरान्ह सरोकारवाला निकायका जिम्मेबार पदाधिकारी बसी जोखिम घटाउने सहमति भएको छ ।
सोमबारबाट शिविर भित्रका रुखहरुका हाँगा काट्ने, जोखिम अवस्थामा रहेका रुखलाई चाँडै कानुनी प्रकृया पुरा गरी कटान गर्ने, घाइतेको उपचार र मृतकको क्षतिपूर्तिका लागि पहल गर्ने लगायतका चार बुँदे सहमतिपछि मृतक बालिकाको शव विधिवत दाहसंस्कार गर्ने निर्णय भएको सहमतिका लागि छलफलमा सहभागी सहायक प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापाले बताए ।
छलफलमा पूर्वाञ्चल क्षेत्रीय निर्देशक प्रकाशनाथ प्याकुरेल, झापा जिल्ला बन कार्यालयका प्रमुख अधिकृत इन्द्रमणि भण्डारी, सशस्त्र प्रहरी गण पाथिभराका प्रमुख भरतबाबु केसी, सहायक बन अधिकृत दिलिप गुप्ता, देवनारायण झा, हंसे दुम्से सामुदायिक बनका अध्यक्ष हिमालय दाहाल, सामुदायिक सञ्जालका अध्यक्ष नैनसिंह भण्डारी, यूएनएचसीआर लगायत शिविर व्यवस्थापन समितिका जिम्मेवार पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।






Comments