बिर्तामोडबाट सप्तरीका अग्नीपीडितलाई राहत



१२ जेठ, बिर्तामोड।
झापा उद्योग वाणिज्य संघ शाखा बिर्तामोड र छठ सेवा समाज बिर्तामोडले संयुक्त रुपमा सप्तरीका अग्निपीडित ४३ घरपरिवारलाई राहत वितरण गरेको छ ।
दुबै संस्थाको संयुक्त टोलीले हिजो सोमवार सप्तरी रामपुर मलनीया-५ स्थित अग्निपीडित परिवारकैमा पुगेर तीन लाख ५० हजार रुपैयाँ बराबरको राहत वितरण गरेको झापा उद्योग बाणिज्य संघ शाखा बिर्तामोडका अध्यक्ष बलराम कार्कीले जानकारी दिए । छठ समाजका अध्यक्ष देवेन्द्रकुमार सिंहका अनुसार अग्निपीडितहरुका लागि चामल, दाल, नून, तेल, चिउरा, साबुन, भाडाकुडा, लत्ताकपडा लगायतका सामग्री वितरण गरिएको थियो ।



गत चैत २६ गते भएको आगलागीमा घरवारविहीन भएका मलनीयावासीको पीडामा थोरै भएपनि राहत पुर्‍याउन झापाका विभिन्न क्षेत्रबाट संकलित सामग्री वितरण गरिएको बताइएको छ । विर्तामोडका संघ-संस्थाबाट राहत पाउँदा अग्निपीडितहरु अत्यन्त हर्षित देखिएको र खुशीले मानवीय सेवामा सँधै समर्पित रहन आग्रहसहित धन्यवाद ज्ञापन गरेको बाणिज्य संघ बिर्तामोडका अध्यक्ष कार्कीले बताए ।
राहत वितरणका लागि झापा उद्योग वाणिज्य संघ बिर्तामोडका उपसचिव प्रशान्त भण्डारी तथा बाणिज्य संघका सदस्य एवम् छठ समाजका पदाधिकारीहरु शत्रुघन चौधरी, घनश्याम चौधरी, राजकुमार गुप्ता, राजकुमार साह, रामेश्वर दुवेदी, सकलदेव चौधरी, प्रभु साह, अशोक चौधरी, दिलीप दास, बरुण चौधरी, सुभनारायण देवसहितको टोली सप्तरी पुगेको थियो ।
झापा उद्योग वाणिज्य संघ शाखा बिर्तामोडले यसअघि ताप्लेजुङका अग्निपीडित तथा भूकम्प पीडितका लागि ३० लाख रुपैयाँ बराबरको राहत सामग्री तथा नगद जुटाएर हस्तान्तरण गरेको थियो ।



Comments