भुकम्पमा परी पूर्वाञ्चलमा १ को मृत्यु, ६ प्रहरीसहित ५४ घाइते



२९ बैशाख, बिराटनगर।
आज दिउँसो गएको भुकम्पका कारण पूर्वाञ्चल क्षेत्रमा १ जनाको ज्यान गएको छ भने ५४ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जना प्रहरी कर्मचारीहरु छन्। भुकम्पका कारण बिभिन्न स्थानका प्रहरी कार्यालयहरुमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।
हालसम्म प्राप्त जानकारी अनुसार भुकम्पका कारण सुनसरीको रामधुनी नगरपालिका १० की ६५ वर्षिया दिलकुमारी राईको मृत्यु भएको छ। दिउँसो गएको भूकम्पपश्चात हृदयघातबाट उनको मृत्यु भएको हो । भुकम्पका कारण झापामा २, ईलाममा २, पाँचथरमा २, मोरङमा ७, सुनसरीमा २, धनकुटामा ४, तेह्रथुममा ५, भोजपुरमा १, संखुवासभामा ४, सप्तरीमा ६, सिरहामा ८, उदयपुरमा २, ओखलढुङामा ५, खोटाङमा १ र सोलूखुम्बुमा ३ जना घाइते भएको बिवरण प्राप्त भएको छ।


भुकम्पका कारण तेह्थुम, सप्तरी, संखुवासभा, ओखलढुङा, र सोलुखुम्बु जिल्लामा कार्यरत ६ जना प्रहरी कर्मचारीहरु समेत घाइते हुनुकासाथै मोरङ, धनकुटा, सिरहा, उदयपुर, झापा, ईलाम, सोलुखुम्बु र ताप्लेजुङमा रहेको २८ वटा प्रहरी कार्यालयको पर्खाल चर्केको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । भुकम्पका कारण झापा कारागार ड्युटी बस्ने ४ नम्बर बुर्जासमेत ढलेको छ।
भुकम्प प्रभावित स्थानहरुमा स्थानीय प्रहरीसमेत टोलीद्वारा उद्दार तथा क्षतीको बिवरण संकलन कार्य भइरहेको कार्यालयले जनाएको छ ।



Comments