बालागुरु षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गर्न माग



१७ जेठ, दमक।
समाजसुधारक बालागुरु षडानन्द अधिकारीलाई राष्ट्रिय विभूति घोषणा गर्न दमकमा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । षडानन्दको १००औँ स्मृति दिवसका अवसर पारेर आइतबार यहाँ आयोजना गरिएको अन्तरकृयामा उनीहरुले सो माग गरेका हुन् ।
कार्यक्रममा बक्ताहरुले षडानन्दको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै उनलाई राज्यद्वारा राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको थियो । वि.सं. २०५१ सालमा तत्कालीन सूचना तथा सञ्चारमन्त्री प्रदिप नेपालले बालागुरु षडानन्दको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्नेबाहेक षडानन्दप्रति राज्यका तर्फबाट अन्य कुनैपनि प्रकारको सम्मानजनक कार्य नभएको उनीहरुको गुनासो थियो ।



पूर्वमन्त्री एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा साहित्यकार कृष्ण अधिकारी, षडानन्द उच्च मा.वि. दिङ्ला, भोजपुरका अध्यक्ष थानेश्वर नेपाल, सहप्राध्यापक मोहन भण्डारी लगायतले षडानन्दको जीवनीमाथि चर्चा गरेका थिए ।
उक्त कार्यक्रममा बालागुरुको सम्झना एवं सम्मानमा १ सय ८ दीप प्रज्ज्वलन गरिनुका साथै भूकम्पमा परेर ज्यान गुमाउनेहरुको स्मृतिमा समेत दीप प्रज्ज्वलन गरिएको थियो ।

उक्त कार्यक्रममा कवि ज्ञानोदय सुवेदीद्वारा लिखित 'योगमाया संयुक्त' नामक काव्य समेत विमोचन गरिएको थियो ।
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष श्याम लम्सालको अध्यक्षतामा भएको थियो ।





Comments