दमक नगरपालिका केही सेवाहरु अर्को भवनबाट



३ जेठ, दमक।
गत बैशाख १२ गते शनिवार आएको भुकम्पका कारण दमक नगरपालिकाको कार्यालय भवनमा पनि क्षति पुगेपछि कार्यालयले आफ्ना केही कामहरु अर्को भवनबाट शुरु गर्ने भएको छ ।
नगरपालिकाले आफ्नो कार्यालय संचालन गर्दैआएको भवनमा भुकम्पका कारण क्षति पुगेपछि सो भवनको माथिल्लो तलामा संचालन हुँदैआएका शाखाहरुलाई नगरपालिकाको उत्तरपटी रहेको अर्को भवनबाट संचालन गर्न लागिएको नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले जानकारी दिए । दाहालले भने, 'अहिले पनि बारम्बार भुकम्प तथा पराकम्पका धक्काहरु महशुस भइरहेकाले कुनै पनि समयमा हुने सक्ने संभावित जोखिमको महशुस गरी सोमबारबाट कार्यालयका केही सेवा सुविधाहरुलाई अर्को भवनबाट संचालन गर्न लागिएको हो ।' यसरी अर्को भवनमा सर्न लागेका फाँटहरुमा घर नक्शा, योजना, प्राविधिक, तथ्याकं, पंजिकरण, तथा समाज कल्याण शाखा रहेको जनाइएको छ ।


यसअघि संचालन हुँदै आएका यी शाखाहरु रहेको केही कोठाहरु चर्किएको दमक नगरपालिकाका इन्जिनियर तिर्थनारायण श्रेष्ठले जानकारी दिए । भवन सम्बन्धीका विज्ञहरुको परामर्शपछि चर्किएका भागहरुमा रेक्टोफिटिग (कोट) गर्ने कार्य नहुँदासम्म नयाँ भवनबाट नै यी सेवाहरु संचालन गरिने र मर्मतपछि पहिलाकै स्थानमा सारिने श्रेष्ठले जानकारी दिए ।




Comments