:स्थानीय निकायको झल्को दिने दमक-रवि सडकको निर्वाचन, अध्यक्षमा ५ पार्टीका ६ उम्मेद्वार



दमक
दमक-चिसापानी-रवि (फाल्गुनन्द) सडक निर्माण उपभोक्ता समितिको अध्यक्षमा ६ जनाको उम्मेद्वारी परेको छ । आइतबार निर्वाचन तालिका अनुसार गठित समिति समक्ष आफ्नो उनीहरुले दलीय गठबन्धनबाट उम्मेद्वारी दर्ता गरेका हुन् । दलहरुले सहमतिमा नेतृत्व चयन गर्न नसकेपछि निर्वाचन प्रकृया अन्तर्गत उम्मेद्वारी दर्ताको प्रकृयामा सामेल भएका हुन् ।
अध्यक्षमा एमालेका होमबहादुर थापाको उम्मेद्वारी परेको छ । उता काँग्रेसका प्रकाश बुढाथोकी र दिलबहादुर बुढाथोकीको पनि अध्यक्षमा उम्मेद्वारी परेको छ । यसैगरी राप्रपा नेपालका घनेन्द्र सुब्बा, एमाओवादीका गगन पुरी र संघीय समाजवादीका लोकसागर साम्बाको पनि अध्यक्षमा उम्मेद्वारी परेको छ । उनीहरुमध्ये बुढाथोकी सकृय काँग्रेस कार्यकता तथा महासमिति सदस्य हुन् भने थापा एमाले जिल्ला कमिटी सदस्य हुन् । सुब्बा राप्रपा नेपालका असन्तुष्ट कार्यकर्ता हुन र पुरी एमाओवादीका राज्यसमिति सदस्य हुन् । त्यस्तै, साम्बा संघीय समाजबादीका केन्द्रीय सदस्य हुन् ।



यसैगरि सह-अध्यक्षमा गोबिन्द बस्नेत र पूर्णबहादुर बस्नेतको उम्मेद्धारी परेको छ । बरिष्ठ उपाध्यक्ष सुशील कुमार राई र मणिकुमार भण्डारी उम्मेद्वार बनेका छन् । उपाध्यक्षमा डिकबहादुर लिम्बु र बिनोदकुमार नेम्बाङ उम्मेद्वार बनेका छन् भने महिला उपाध्यक्षमा हरिदेबी राई र भगवती श्रेष्ठको उम्मेद्वारी परेको छ । कोषाध्यक्षमा नैनबहादुर भण्डारी र मोहनकुमार धिमालले उम्मेद्वारी दिएका छन् भने सचिवमा दिलकुमार लावती र नरेन्द्र सुब्बासमेत नौजना कार्यकारी पदाधिकारीका लागि २४ जनाले उम्मेद्वारी दिएका छन् ।
यसैगरी सदस्यहरुमा गजेन्द्र राई, मिलन बस्नेत, शक्ति सावा, लोमनाथ भण्डारी, उमेश सिटौला, टिकाराम राई, चन्द्र गजमेर, यमनाथ अधिकारी, रुद्र कार्की, र डम्बर पुलामी रहेको जनाइएको छ ।
यसरी नै महिला सदस्यहरुमा नरमाया तामाङ, पदमा अधिकारी र स्वतन्त्रबाट सदस्य पदका लागी सागर खनालको उमेद्वारी परेको निर्वाचन समितिले जनाएको छ ।
यसरी १३ जना सदस्यका लागि २७ जनाको उम्मेद्धारी परेको निर्वाचन समितिका सदस्य पारस आचार्यले बताएका छन् ।
समितिमा चार संस्थागतसमेत आठजना मनोनित गर्ने प्रावधान रहेको जनाइएको छ ।
दुई चरणमा हुने निर्वाचनमा एक हजार एकसय ३ मतदाता रहेका छन् । पहिलो चरणअन्तर्गत १५ जेठमा दमकको रेडक्रस भवनमा र १६ जेठमा इलाम बाँझोको खलङ्गे विद्यालयमा बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान हुने निर्वाचन समितिले बताएको छ ।
निर्बाचनले आठ बर्षदेखि कार्यरत सुरेश सुब्बा नेतृत्वको समितिलाई बिस्थापित गर्नेछ ।


दलहरुका कोठे बैठक
पाँचथर र इलामका पश्चिमी क्षेत्रलाई झापासँग जोड्ने राष्ट्रिय योजनामा परिसकेको सडक निर्माण उपभोक्ता समिति चयनको रस्साकस्सीमा स्थानिय राजनीतिक नेतृत्व जोडले लागेको देखिन्छ । केहि दिनयता बढेको राजनीतिक संलग्नताले करिब करिब स्थानीय निकायको झल्को दिइरहेको छ । उपभोक्ता समितिमा जानको लागि दलको स्थानीय नेतृत्व गुट र प्यानल निर्माण गर्न कोठे बैठकमा जुटिरहेको छ । सडक विभागको दमकस्थित डिभिजन कार्यालयले निर्माण र अनुगमन समेत गर्ने जिम्मा पाएको सडकमा उपभोक्ताको सहभागिता बढाउन र स्थानीय स्तरमा अबरोध आउन नदिन समितिले भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ । तर उपभोक्ता समिति जस्तो गैह्र राजनीतिक एकाई बनाउन राजनीतिक दलका स्थानिय हस्तीहरु काम छोडेर लाग्नुलाई स्थानिय निकायको निर्वाचन नहुँदाको अबस्था पनि मान्ने गरिएको छ ।




Comments