दुर्घटनामा दुईको मृत्यु, चार घाइते



६ जेठ, दमक।
पूर्वका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ । ती घटनामा ४ जना घाइते भएका छन् ।
मोरङको पथरी शनिश्चरेमा आज ट्याक्टरले मोटरसाइकल र स्कुटीलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल सवार झापा बुधवारे २ की २५ बर्षिया टिका देवी श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो भने मोटरसाइकल चालक मृतकको भाई बिर बहादुर श्रेष्ठ र स्कुटी चालक पथरी शनिश्चरे १ को ५० बर्षिय दिल बहादुर लिम्बु गम्भीर घाइते भएका छन्।




आज करिब दिउँसो पौने १२ बजेतिर पथरी डाइनिया सडक अन्तरगत पथरी शनिश्चरे ८ मा को १ त ३५२२ नम्बरको ट्याक्टरले मे ५ प १९९९ नम्बरको मोटरसाइकल र मे ३ प १६६० नम्बरको स्कुटीलाई ठक्कर दिँदा दुर्घटना भएको थियो। ठक्कर दिने ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।
उता सुनसरीको इटहरीमा मोटरसाइकलको ठक्करबाट एक पुरुषको ज्यान गएको छ।
मोटरसाइकलको ठक्करबाट सुनसरी झुम्का बस्ने ५० वर्षिय बद्री बहादुर काफ्लेको मृत्यु भएको हो। साइकलमा सवार उनलाई मंगलबार राती १० बजे को१२प ६७ नम्बरको मोटरसाइकलले पूर्वपश्चिम राजमार्ग अन्तरगत इटहरी ५मा ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनको न्युरो अस्पताल बिराटनगरमा उपचारकाक्रममा राती १२ बजे मृत्यु भएको थियो।
मोटरसाइकल चालक फरार रहेकाले उनको खोजतलाश भइरहेको प्रहरीले जनाएको छ।

यस्तै आज बिहान करिब सवा ७ बजेतिर पश्चिमतर्फ जाँदै गरेको को १ ख २४८० नम्बरको ट्रकले मोरङ बेलबारी ३ स्थित राजमार्गमा एक स्थानिय पैदल यात्रीलाई ठक्कर दिएको छ। ठक्करबाट बाटो हिँड्दैगरेकी ४५ बर्षिया छिकामाया पन्त गम्भीर घाइते भएकी छिन्। उनको न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ। ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ।
त्यसैगरी पूर्वपश्चिम राजमार्गअन्तर्गत मेचीनगर नगरपालिका १२ स्थित राजमार्गमा बिहान साढे ८ बजे गुडिरहेको मे ६ प २९३१ नम्बरको स्कुटीको पछाडिको चक्का अचानक पङ्क्चर भई दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। दुर्घटनामा मोटरसाईकल चालक सोहि नगरपालीका १० का २३ बर्षिय सन्जिव कार्की सामान्य घाइते भएका छन् भने सो स्कुटीको पछाडि सवार उनकी ३२ बर्षिया भाउजु पिंकी कार्की गम्भीर घाइते भएकी छिन्। दुर्घटनामा गम्भीर घाइते भएकी महिलालाई उपचारार्थ भारतको सिलगुडीतर्फ लगिएको प्रहरीले जनाएको छ।




Comments