भूकम्पको पीडा भुलाउन सृजना अभियान



१७ जेठ, पथरी ।
नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानले भूकम्पको पीडा भुलाउन झापाको दमक, मोरङको पथरीशनिश्चरे र इलामको चुलाचुली र साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
झापाको दमकमा आज नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानको समन्वय तथा स्थानीय संघसंस्थाहरुको समन्वयमा स्थानीय गणतन्त्र चोकमा नाट्य तथा कलामार्फत भुकम्पीय त्रास हटाउन कार्यक्रम गरिएको थियो ।
भुकम्पको त्रासलाई भुल्न सृजनात्मक बनौं भन्ने उद्देश्यका साथ आयोजना गरिएको सो कार्यक्रमले जनस्तरमा सामाजिक सन्देश दिने अपेक्षा गरिएको छ।



दमकमा गरिएको सो कार्यक्रममा दमक-१३ निवासी जेष्ठ नागरिक १०४ वर्षिया नन्द कुमारी अधिकारीले ९० सालको भुकम्पको अनुभव सुनाएकी थिइन् । त्यस्तै कार्यक्रममा बरिष्ठ लोक गायक एलपी जोशीसहित स्थानीय कलाकारहरु सृष्टि राई, रमिला रम्जेल, लगायतले गीत प्रस्तुत गरेका थिए । संगीतकर्मीहरुले आफ्नो प्रस्तुति दिँदा सहभागीहरुले नाच्दै, गाउँदै साथ दिएका थिए ।
नेपाल संगीत नाट्य प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव गणेश रसिकको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा स्रष्टाहरु विवश बलिभद्र कोइराला, याम थुलुङ लगायतले आफ्ना सृजना प्रस्तुत गरेका थिए भने सो कार्यक्रममा चेतनामूलक नाटकसमेत प्रदर्शन गरिएको थियो । स्रष्टा धनकुटे कान्छाले सञ्चालन गरेको कार्यक्रममा नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष प्रकाश अधिकारी, प्रज्ञा प्रतिष्ठानका सदस्य राम धामी, प्रध्यापक डाक्टर नेत्रबहादुर बुढाथोकी, जेष्ठ नागरिक अगुवा लक्ष्मी थपलिया लगायतको उपस्थिति रहेको थियो ।



त्यसैगरी पथरीशनिश्चरेस्थित पथरी बजारमा हिजो गरिएको साँस्कृतिक कार्यक्रममा बृष प्रधान, रगुन गुरुङ, विनोद राई, समिर विक, मनि दियाली, सुधाश्रेया दवाडी, पंकज सापकोटा, होमा डाँगी सहितका श्रष्ठाहरुले गीत प्रस्तुत गरेका थिए।
स्थानीय विद्यालयका विद्यार्थीका लागि केन्द्रीत गरिएको कार्यक्रममा स्थानीय विद्यालयका पायल तामाङ, योजना आलेमगर, सृष्टिका शेर्मा, एन्सा बोहोरा, क्षितिज राई सहितले नृत्य प्रस्तुत गरे भने प्रविण सुवेदीको चोटिलो हाँस्यव्यङ्ग्य प्रस्तुति रहेको थियो । कार्यक्रममा राजकुमार सुब्बा, अशोक बस्नेत, ददिराम ढकालले कविता प्रस्तुत गरेको त्यहाँका कार्यक्रम संयोजक भूपेन्द्र तिम्सिनाले जानकारी दिए।
कंचनजंघा नाट्य समूहको 'दोबाटे' टेलिश्रृंखला युनिट, प्याव्सन ७ नम्बर क्षेत्रीय समन्वय समिति पथरी, पथरी स्पोर्टिङ क्लब, नर्मदेश्वर शिवालय मन्दिर, दीपज्योति बाल क्लब, रेडियो सिम्रिक, चुलाचुली रंगमञ्च इलाम सहितको स्थानीय आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा, चुलाचुली रंगमञ्चका कलाकारहरुले भूकम्प सम्बन्धि नाटक प्रस्तुत गरेर सधैं भूकम्पको त्रासमा नपरी सुरक्षित प्रकारको घर बनाएर बस्न आग्रह गरेका छन् ।
चुलाचुलीमा पनि सो कार्यक्रम सम्पन्न भएको छ ।

जेठ १५ देखि २४ गतेसम्म पूर्वमा त्यसखाले अभियान सञ्चालन भइरहेको छ ।


Comments